हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउॅंपालिका वडा नम्बर २ सिमखोला पुल नजिकै कुखुरा बोकेको बोलेरो भ्यान दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
आज विहान १ बजेको समयमा सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र.०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड बोलेरो पिकअप गाडी ब्रेक फेल भई अनियन्त्रित भएर सडकबाट करिब ५–७ मिटर तल खोल्सामा खसेर दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।
बोलेरो गाडी सडकबाट खोल्सामा खस्दा सह-चालक १७ वर्षीय सर्लाही वरथवा न.पा.१ बस्ने रोहन मण्डलको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते उनको उपचारको काठमाडौ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी दुर्घटनामा चालक वरथवा न.पा.१ बस्ने बर्ष अन्दाजी २५ वर्षीय रामवली साह र सवार सोही स्थान बस्ने अन्दाजी १६ वर्षीय छोटे पीसवान घाइते भएको र उनीहरुको केएमसी अस्पतालमै उपचार भइरहेको जनाइएको छ ।
उक्त बोलेरो गाडीमा रहेको ५०० कुखुरा मध्ये ३०० कुखुरा मरेको, बोलेरो गाडी क्षतीगस्त भएको जनाइएको छ । घाइतेहरुलाई प्रहरी चौकी खानिखेतबाट गएको प्रहरी टोलीले उद्वार गरेरे उपचारको लागि पठाएको थियो ।
साथै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।






















