हेटौंडा । राष्ट्रिय सभा सदस्यका लागि आज देशभर मतदान भइरहेको छ। बागमती प्रदेशमा दिउसो २ बजे सम्ममा प्रदेश सभातर्फ ८८ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २२७ जनाले मतदान गरेका छन् । दिउँसो २ बजेसम्म बागमती प्रदेश तर्फको कुल मतदाता ३३४ मध्ये ३१५ जनाले मतदान गरेका छन् ।
बागमती प्रदेश सभामा हाल १०४ जना सांसद छन् ।
प्रतिनिधि सभा निर्वाचनमा भाग लिन बागमती प्रदेशका ६ जना सांसदले राजीनामा दिएका थिए । राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी भएको छैन ।
यस्तै, स्थानीय तहतर्फ २३५ मतदाता छन् । तीन वटा नगरका मेयरले प्रतिनिधि सभामा भाग लिन राजीनामा दिएका छन् । जसले गर्दा स्थानीय तहका तीन जना मतदाता कम भएका हुन् ।
निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ। मतदान सम्पन्न भए लगत्तै मतगणना गर्ने कार्यक्रम रहेको राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ ।
मतदानका लागि हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्र स्थापना गरिएको छ ।






















