रास्वपामा बोल्नै नपाइने स्थिती भएपछि काङ्ग्रेसमा फर्किए : भरत पराजुली

हेटौंडा टुडे
२०८२ फाल्गुन १३, बुधबार १२:४० गते

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको सभापति भरतप्रसाद पराजुलीले पद त्यागेर कांग्रेस प्रवेश गरेका छन। उनले बुधबार (आज) बिहान नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पराजुलीले आन्तरिक लोकतन्त्रको अभाव र बोल्नै नपाइने अवस्था रहेको बताएका छन। पराजुलीले रास्वपामा केन्द्रीय नेता बाहेक अरुले बोल्नै नपाइने स्थिती रहेको बताएका हुन् ।

उनले केन्द्रीय नेतृत्वले जे गरे पनि स्वीकार्य हुने तर तल्लो तहका नेता–कार्यकर्तालाई आफ्ना धारणा राख्नसमेत कठिनाइ हुने अवस्था रहेको बताए । पार्टीभित्र काम गर्दै जाँदा अपेक्षा गरेअनुसार स्पष्ट सिद्धान्त, दृष्टिकोण र दीर्घकालीन योजना नदेखिएको उनको भनाइ थियो ।
‘पुराना दललाई ठोक्ने र भ्रष्टाचारमुक्त बनाउँछु भन्ने भाषण मात्रै रहेछ, पराजुलीले भने, ‘देश बनाउने ठोस योजना, कार्यविधि र दीर्घकालीन खाका देखिएन । रास्वपा सामाजिक सञ्जाल र भाषणमा जति लोकतान्त्रिक देखिन्छ, व्यवहारमा त्यस्तो छैन। निर्णय प्रक्रियामा पारदर्शिता थिएन, जनमूल्यांकनको प्रणाली पनि गलत रहेछ ।’

कांग्रेसमा खुलेर बोल्ने संस्कारमा राजनीति गरेको मान्छे रास्वपामा गएपछि बोल्नै नपाइने अवस्थामा साढे तीनपर्ष बिताएको उनले बताए । रास्वपाको संरचना लोकतान्त्रिक प्रणालीअनुसार सञ्चालन नभएको र आन्तरिक बहस–संवादको संस्कार कमजोर रहेको निष्कर्षमा पुगेपछि उनले कांग्रेसमै फर्किने निर्णय लिएको बताए । आफ्नो राजनीतिक पृष्ठभूमि, पसिना र योगदान कांग्रेससँगै जोडिएको कारण फर्किन कुनै असजिलो नलागेको उनले स्पष्ट पारे ।
कांग्रेस पार्टी छोडेर रास्वपामा जाँदा गल्ती भएको स्वीकार गर्दै उनले कमजोरीसँग पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने भए पनि आफ्नो स्वभावका कारण त्यसरी बस्न नसकेको बताउँदै उनले भने, ‘कांग्रेसमा कमजोरी थिए, तर त्यो कमजोरीसँग भित्रै बसेर लड्नुपर्ने थियो। मेरो स्वभावले त्यो गर्न सकेन, रिसाएर बाहिरिएँ,’ अहिले पनि ती दिन सम्झेर पछुतो लागिरहेको छ ।’

वर्तमान कांग्रेस नेतृत्वप्रति विश्वास व्यक्त गर्दै उनले विशेषगरी सभापति गगन थापा नेतृत्वमा युवाहरूको क्षमतावान् टिम तयार भएको र पार्टी सुधारको दिशामा अघि बढिरहेको दाबी गर्दै उनले भने, ‘सुध्रेको कांग्रेसले देशको अभिभावकत्व निभाउन सक्छ र देशलाई सही दिशा दिन सक्छ भन्ने पूर्ण विश्वासका साथ म पुनः कांग्रेसमा प्रवेश गरेको हुँ ।’ रास्वपामा प्रवेशपछि उनले जिल्ला सभापतिको जिम्मेवारी पाएका थिए । आफू कुनै विशेष प्रभावशाली व्यक्ति नभए पनि पार्टीले अवसर दिएको उल्लेख गर्दै उनले करिब साढे तीन वर्ष संगठन निर्माणमा निरन्तर मेहनत र संघर्ष गरेको बताए। उनी नेपाली कांग्रेसमा फर्किएसँगै मकवानपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका बुद्ध लामालाई सहयोग पुग्ने आकंलन गरिएको छ ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा पराजुली मकवानपुर–२ मा रास्वपाबाट उम्मेदवार बनेका थिए। प्रत्यक्ष तर्फ पराजुलीको पक्षमा १४ हजार मत खसेकोमा १२ हजार ५९ मत सदर भएको थियो । पराजुलीको कारण पश्चिमी मकवानपुरको मत कांग्रेसको पक्षमा तान्न सकिने रणनीतिका साथ पार्टीमा भित्र्याइएको कांग्रेसका नेताहरु बताउँछन् ।

त्यसैगरी आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरका दुबै उम्मेदवारहरूले आफूहरूको जित सुनिश्चित रहेको दाबी गरेका छन् । नेपाली कांग्रेस मकवानपुरका क्षेत्र नम्बर–१ की उम्मेदवार तथा कांग्रेसकी निवर्तमान सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय र क्षेत्र नम्बर–२ का उम्मेदवार एवं कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले आफ्नो जितप्रति पूर्ण आत्मविश्वास व्यक्त गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उपाध्यायले आफूले लामो समयदेखि मकवानपुर क्षेत्र नम्बर–१ का जनताको सुख–दुःखमा साथ दिँदै आएको उल्लेख गर्दै जनताले आफ्नो कामको मूल्यांकन गर्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “म पदमा हुँदा होस् वा नहुँदा, जनताका लागि निरन्तर काम गर्दै आएको छु । विकास, समावेशिता र जनजीविकाका मुद्दामा मैले निरन्तर आवाज उठाएको छु । त्यसैले यसपटक जनताको साथ कांग्रेसलाई नै प्राप्त हुनेमा म विश्वस्त छु ।”

त्यस्तै, क्षेत्र नम्बर–२ का उम्मेदवार बुद्ध लामाले पनि आफूले पार्टी नेतृत्वमा रहँदा तथा व्यक्तिगत पहलमा जिल्लाको विकासका लागि गरेका कामका कारण मतदाताहरूको विश्वास कांग्रेसप्रति अझ मजबुत बनेको बताए । उनले भने, “हामी चुनावका बेला मात्र देखिने नेता होइनौं । जनताको बीचमै बसेर काम गरेका कारण जनताले यसपटक पनि हामीलाई नै रोज्नेछन् भन्नेमा ढुक्क छौं ।”

उनले कांग्रेसले अघि सारेका स्थायित्व, सुशासन र विकासका एजेण्डाहरूले मतदातालाई आकर्षित गरिरहेको दाबी गरे । लामाका अनुसार मकवानपुरका दुबै क्षेत्रमा कांग्रेसको संगठन बलियो रहेकाले परिणाम पनि सकारात्मक आउने अपेक्षा गरिएको छ ।

पत्रकार सम्मेलनमार्फत कांग्रेसले मकवानपुरका दुबै निर्वाचन क्षेत्रमा चुनावी माहोल आफ्नो पक्षमा बन्दै गएको संकेत गर्दै आगामी निर्वाचनमा विजय हासिल गर्ने दाबी पुनः दोहोर्‍याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*