हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ना.४३ प २२१ नम्बरको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय संजित स्याङ्तान र सोही ठाउँका १८ वर्षीय अमोश थिङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा चुरेहिल अस्पतालमा ज्यान गएको जनाइएको छ ।
मोटरसाइकललाई ठक्कर दिएर भाग्ने मालवाहक ट्रक रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । वीरगन्जमा दुर्घटना हुँदा ठोक्किएको भाग मर्मत गर्न भनेर पाटपुर्जा खोल्दै गरेको अवस्थामा ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ। मालवाहक ट्रक मोटरसाइकललाई ठक्कर दिएर भागेको थियो।
वीरगन्ज महानगरपालिका–१३ स्थित प्रतिमाचोकमा रहेको ग्यारेजमा बनाउँदै गरेको अवस्थामा प्रहरीले ग.२ ख ८९८ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो। ट्रकका भने चालक फरार छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान गरिरहेको छ । चालकले सो मालवाहक ट्रक भोला बडी बिल्डर्स नामको ग्यारेजमा मर्मत गर्न छाडेर फरार भएको थाहा भएको छ ।






















