हेटौँडा । हेटौँडा उपमहानगरपालिका–९ अन्तर्गत हिड (HID) क्षेत्र आसपास पछिल्ला केही दिनदेखि चितुवा देखिएको सूचना प्राप्त भए सगैं हिजो राति करिब १०ः१९ बजेतिर हेटौँडा सिमेन्ट रोड नजिकको सडक हुँदै एउटा चितुवा जङ्गलतर्फ जाँदै गरेको देखिएको छ ।
सो क्षेत्रमा केही दिनयता चितुवा आवतजावत गरिरहेको जानकारी स्थानीय बासिन्दाले दिएका छन् ।
मानव बस्ती नजिक चितुवा देखिन थालेपछि स्थानीयवासीमा त्रासको अवस्था उत्पन्न भएको छ । घटनाबारे सम्बन्धित निकाय तथा सुरक्षाकर्मीलाई जानकारी गराइएको जनाइएको छ ।
स्थानीय बासिन्दालाई रातिको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, बालबालिका तथा घरपालुवा जनावरको विशेष ख्याल राख्न र चितुवा देखिएमा नजिक नजान अनुरोध गरिएको छ ।
उक्त विषयमा डिभिजन वन कार्यालय हेटौँडामा जानकारी पुगेको र कार्यालयले आवश्यक तयारी गरिरहेको जनाइएको छ । साथै, यस्ता घटना देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।






















