विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम भव्य रूपमा सम्पन्न

वातावरण संरक्षणमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरू सम्मानित, विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
हेटौंडा टुडे
२०८३ जेष्ठ २२, शुक्रबार १९:३६ गते

हेटौंडा । समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास भन्ने नाराका साथ हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आयोजनामा विश्व वातावरण दिवस–२०८३ को अवसरमा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रम पुरस्कार वितरण, वातावरण सम्मान तथा समापन समारोहसहित भव्य रूपमा सम्पन्न भएको छ।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँ प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा हेटौंडा उपमहानगरपालिकाका पूर्व नगरप्रमुख डोरमणी पौडेल, बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भरतकुमार केसी, प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललित कुमार घलान, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वातावरण संरक्षणलाई व्यवहारमा उतार्न समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले जलवायु परिवर्तनका चुनौती सामना गर्न सरकार, स्थानीय तह, समुदाय र नागरिकबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

विशेष अतिथि डोरमणी पौडेलले हेटौंडामा टोल विकास संस्थामार्फत समुदायमा आधारित विकास र वातावरण संरक्षण अभियानको सुरुवात गरिएको स्मरण गर्दै वातावरणीय सचेतना र सामाजिक रूपान्तरणमा टोल विकास संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

वन तथा वातावरण मन्त्री भरतकुमार केसीले वातावरणीय सन्तुलन कायम राख्न प्राकृतिक स्रोतको संरक्षण, प्लास्टिकजन्य प्रदूषण नियन्त्रण तथा हरियाली प्रवर्द्धनमा सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो। उहाँले वातावरणमैत्री विकासलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो।

कार्यक्रममा अध्यक्ष ध्रुव प्रसाद अधिकारीले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सम्पन्न भएका गतिविधिहरूको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्दै वृक्षारोपण, प्लास्टिक न्यूनीकरण अभियान, फोहोर खोज चुनौती, विद्यालयस्तरीय प्रतियोगिता, वातावरणीय संवाद, सचेतनामूलक र्याली, सरसफाइ अभियान तथा जनचेतनामूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण निकाय, संस्था, विद्यालय, सञ्चारकर्मी, स्वयंसेवक तथा सहभागीहरूप्रति आभार व्यक्त गर्नुभयो।

वातावरण सम्मान–२०८३ प्रदान
समारोहमा वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवर्द्धन, जैविक विविधता संरक्षण तथा सामुदायिक विकासमा योगदान पुर्‍याए बाफत दिईने वातावरण सम्मान यस वर्ष वरिष्ठ पत्रकार तथा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलाई खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा पुर्‍याउनुभएको उल्लेखनीय योगदानको कदरस्वरूप प्रदान गरिएको छ।

त्यसैगरी सिद्धिलाल श्रेष्ठलाई हेटौंडा–११ स्थित खाली जग्गामा बुद्ध पार्क निर्माण तथा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत सम्मान गरिएको छ। विद्यालयतर्फ वातावरणीय सरसफाइ तथा हरियाली प्रवर्द्धनमा उत्कृष्ट कार्य गरेबापत भुटनदेवि माध्यमिक विद्यालय सम्मानित भएको छ। मन्दिरतर्फ पशुपति मन्दिर, हेटौंडा–४, धार्मिक स्थलतर्फ कुशमान्ड सरोवर त्रिवेणीधाम, स्मारकतर्फ शहीद स्मारक विकास समिति, हेटौंडा–११ तथा सामुदायिक वनतर्फ रानी सामुदायिक वन, हेटौंडा–६ सम्मानित भएका छन्।

वडा कार्यालयहरूमध्ये वातावरणीय व्यवस्थापन तथा हरियाली प्रवर्द्धनमा उत्कृष्ट कार्य गरेबापत हेटौंडा उपमहानगरपालिका वडा नं. १० सम्मानित भएको छ । उत्कृष्ट टोल विकास संस्था वडा समन्वय समितिका रूपमा हेटौंडा–११ वडा समन्वय समिति सम्मानित भएको छ भने टोल विकास संस्थाहरूसँग समन्वय गरी वातावरणीय कार्यक्रम सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत हेटौंडा–११ वडा कार्यालयलाई विशेष सम्मान प्रदान गरिएको थियो।

सर्प उद्धार तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याएबापत राजेश थापा र विश्वास कोइरालालाई सम्मान गरिएको थियो।
संघ–संस्थातर्फ डिभिजन वन कार्यालय, मकवानपुर, सामुदायिक प्रहरी सेवा केन्द्र, हेटौंडा–११, ज्ञानदिप टोल विकास संस्था, शान्तिचोक टोल विकास संस्था, सामुदायिक विकास तथा सचेतना नेपाल तथा पशुपति हेल्थ क्लब लगायत वातावरण संरक्षण, जनचेतना अभिवृद्धि तथा सामुदायिक विकासमा पुर्‍याएको योगदानको कदरस्वरूप विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो।


त्यसैगरी हेटौंडा–११ का पूर्व वडा अध्यक्ष गोकर्ण पराजुलीलाई आफ्नो कार्यकालमा वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन तथा टोल विकास संस्थाको प्रभावकारी परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत सम्मान प्रदान गरिएको थियो। यस अवसरमा वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवर्द्धन, सामाजिक जागरण तथा सामुदायिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।
प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजित सचेतनामूलक र्याली प्रतियोगितामा विकास टोल विकास संस्था, हेटौंडा–८ प्रथम, कालिकामाई टोल विकास संस्था, हेटौंडा–८ द्वितीय तथा फारलाइन टोल विकास संस्था, हेटौंडा–८ तृतीय भएका थिए। मनकामना ‘ख’, मनकामना ‘क’, तपोवन, सिमलटार तथा पिप्लेचोक टोल विकास संस्थाले सान्त्वना स्थान प्राप्त गरेका थिए। खेर गएका वस्तुबाट उत्पादित सामग्री प्रतियोगितामा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय प्रथम, नवोदय शिशु सदन द्वितीय तथा सिद्धार्थ माध्यमिक विद्यालय तृतीय भएका थिए। ब्रम्हदिक एकेडेमी, ज्ञानदीप शिक्षा निकेतन, रसेल एकेडेमी तथा भुटनदेवी माध्यमिक विद्यालय सान्त्वना भएका थिए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*