आफ्नो भएपछि राम्रो लाग्दै आउँछ :आज्ञा सागर हुमागाईं

टुडे संवाददाता
११ बैशाख २०७७, बिहीबार १३:२७

आज्ञा सागर हुमागाईं

वैशाख ११, हेटौंडा /नमस्कार  !!  मेरो नाम आज्ञा हो। सानो छँदा मलाई आफ्नै नाम निकै अनौठो लाग्थ्यो। ‘आज्ञा’ यो मेरो बाबाले राखिदिनुभएको नाम, अहिले त औधी प्यारो लाग्छ। पहिले भने फिटिक्कै मन नपर्ने। मेरो साथीहरूको जस्तै मिल्दोजुल्दो नाम मेरो किन छैन भन्ने जस्तो लाग्थ्यो। मेरो नाम सधैं एक्कल हुन्थ्यो । मेरो जस्तै नाम अरु कसैको हुन्थेन। साथीहरु पनि जिस्काएर गलल्ल हाँस्थे। खै !  कुन्नी किन पो हाँस्थे तर मलाई भने आफ्नै नाम देखि रिस उठ्थ्यो।

धेरैपल्ट बाबालाई नाम फेर्दिन जिद्दी गरेकी थिएँ तर पनि फेरिएन। टिभीमा जब बाबा समाचार हेर्न बस्नु हुन्थ्यो, म र मामु छेउमा चुपचाप भएर बस्ने गर्थ्यौँ। हेर्न मन नभइ-नभइ कुन बेला समाचार सक्केला र कार्टुन हर्न पाइएला भन्दै बसेको बेला समाचारको अन्त्यमा ‘हस त! हामीलाई आज्ञा दिनुहोस्’ भनेपछि म झसङ्ग हुन्थेँ र मलाई हेरेर मुसुक्क हाँस्दै बाबा भन्नु हुन्थ्यो-“ छोरी हेर त, तिमीलाई टिभीभित्रको मान्छेले बोलायो, पठाइदिउँ??” त्यसैमा मामु थप्नु हुन्थ्यो,-” चकचके बच्चाहरू चाहिँ लान्छ, ज्ञानी बच्चालाई त लाँदैन।” त्यसैले पनि मेरा बाल्यकालका कयौँ दिनहरु त टिभीको समाचार पढ्ने मान्छेले बदमासी गर्यो भने टिभीभित्रै तानेर लान्छ भन्ने डर र भ्रममै बित्यो।

यसैगरी, स्कुलको किताबहरूमा मेरा धेरै साथीहरुको नाम छापिएको हुन्थ्यो। कक्षामा ठूलो स्वरमा एक-एक गर्दै जब पाठ पढिन्थ्यो तब कसैको नामसँग मिल्ने शब्द आउँदा सबै कक्षाका विद्यार्थीहरु त्यही नाम आउने विद्यार्थीलाई हेरेर मुसुक्क हाँस्थे अनि बल्ल फेरी पाठ पढ्न शुरु गर्थे। तर मैले त्यो कहिल्यै अनुभव नै गर्न पाइनँ। मलाई पनि अरूले त्यसरी नै हेरेर मुसुक्क हाँसुन् जस्तो लाग्थ्यो तर मेरो नाम कुनै पनि पाठमा भेटिएन। तर हाम्रो घरमा सप्ताहको पुजा लगाइएको बेला भने मेरो खुसीको सिमा नै थिएन। गुरुबाले कथा सुनाउँदा मेरै नाम बोलाए झैं झुक्किने गरी धेरैपल्ट ‘आज्ञा’ उच्चारण गर्नु भएको थियो। बल्ल मैले अरूले गरेको जस्तै अनुभव गरेकी थिएँ। कक्षामा जस्तो हेरेर मुसुक्क हाँसिदिने कोहि नभए पनि मन भने त्यसै फुरूङ्ग थियो। बाल्यकालमै त यस्तो कुराले पनि काउकुती लाग्ने रैछ।

मैले मेरो नाम मन पराइसकेकी थिएँ तर एक्कासी मेरो नाम र थरको बिचमा भिलेन जसरी सागर थपियो। मलाई त थाहा पनि थिएन मेरो यत्रो लामो नाम छ भनेर, मैले डि.एल.ई को रजिस्ट्रेसन गर्दा बल्ल पत्तो पाएँ। न! मेरो बाबाको नामको बिचमा छ, न ! मामुको। यो त मेरो हजुरबुवाको नामबाट जोडिएको रहेछ। त्यो पनि जन्मदर्ता बनाउने मान्छे झुक्केर। ल ठिकै छ ! सागर त लेख्ने नाम मात्रै हो बोलाउने नाम त उही नै हो भन्ने लागेको थियो। तर एकाएक स्कुलमा मलाई सबैले ‘आज्ञा सागर’ भनेर बोलाउन थाले। कतिले त सागर मात्रै भनेर जिस्काउँथे। त्यसपछि मेरो नाम ‘!’ नै रहयो। बोलाउने पनि लेख्ने पनि। नागरिकता पनि अनि मैले चलाउने सामाजिक सञ्जालहरूमा पनि अवश्य पनि धेरैलाई कौतुहलता थियो, मेरो नामको बिचको सागर किन राखियो भनेर।

कतिले “केटा साथीको नाम हो?” भनेर सोधे। कतिले “बाबाको नाम हो?” भनेर सोधे। कतिले त्यस्सै आस्चर्य लागेर सोधे तर मेरो नाम सुन्ने बित्तिकै प्रायले मलाई पहिलो प्रश्न यही नामको बिचमा सागर किन राखेकी भनेर नै सोधे र अहिले पनि सोध्छन्। आफ्नो भएपछि जे कुरा पनि राम्रो लाग्दै आउँछ, भन्छन् नि! हो रहेछ। म प्रेम गर्छु मेरो पुरा नाम ‘आज्ञा सागर हुमागाईं’ लाई जसले मलाई पुर्ण बनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*