हेटौंडा । मकवानपुरको हेटौंडामा एसइई परीक्षा दिइरहेका एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। शुक्रबार बिहान हेटौंडा–१० भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा अर्काको नाममा परीक्षा दिन आएको एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुलीको मरिन गाउॅंपालिका वडा नम्बर ४ घर भई हाल हेटौडा४ स्थित हेटौडा स्कुल अफ मेनेजमेन्ट कलेजमा कक्षा ११ मा अध्यनरत अन्दाजी १७/१८ वर्षीय बिराज बिक रहेको मकवानपुर प्रहरीले बताएका हुन्।
मकवानपुर प्रहरीको अनुसार, बिकले हेटौंडा–१२, पदमपोखरीका १९ वर्षीय अंकिश श्रेष्ठको प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिन आएका थिए। शंकास्पद गतिविधि देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
थप अनुसन्धानका क्रममा उनले अंकिश श्रेष्ठको नाममा परीक्षा दिन आएको खुलेको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नक्कली परीक्षार्थी बिराज बिक र अंकिश श्रेष्ठ दुवैलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।


















