मकवानपुर उद्योग वाणिज्य संघमा सस्तो बजार बारे छलफल ।

हेटौडा टुडे
३१ भाद्र २०७६, मंगलवार २३:०१

मकवानपुर उद्योग वाणिज्य संघले दशैंमा सस्तो बजार गर्ने बारे छलफल गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा मंगलबार छलफल कार्यक्रम सम्पन्न गरेको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि, कपडा, खाद्यान्न र डिलर एशोसिएसनका अध्यक्ष तथा अन्य सम्बन्धित व्यवसायिहरुको कार्यक्रममा  सहभागिता थियो । छलफलमा कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष समिरलाल डंगोल, खाद्यान्न व्यवसायी संघका अध्यक्ष विजयसागर श्रेष्ठ, डिलर एशोसिएसनका अध्यक्ष चक्रधर विडारी, पूर्व अध्यक्ष डिलाराम तिवारी, संघका कोषाध्यक्ष अनिल अग्रवाल, सचिव काव्यमणि अधिकारी, कार्यसमिति सदस्य माधव ज्ञवाली लगायतले मन्तव्य दिएका थिए ।
उनीहरुले बिल जारी गर्न, जनशक्ति व्यवस्थापन, ढुवानी लगायतका दृष्टिकोणले व्यवसायीहरुलाई सस्तो बजार संचालन गर्न सहज नहुने भन्दै बजार संचालन नगर्न आग्रह गरेका थिए । छलफलमा भाग लिएका व्यवसायीहरुले आफुहरुले आफ्नै पसलबाट दशैंलाई लक्षित गरेर उपभोक्तालाई केही प्रतिशत छुट उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरे । उनीहरुले प्रशासनसंग समन्वय गरी यसबारे आफुहरुले सहयोग गर्न तयार रहेको समेत संघलाई सुझाव दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*