सूचनाको हक सम्बन्धी अन्तर्राष्ट्रिय दिवस

सूचनाको हकको बारेमा अगुवा महिलाहरुसँग अन्तरक्रिया

हेटौंडा टुडे
१० आश्विन २०७६, शुक्रबार २१:४३

 

हेटौँडा, असोज १०

सूचनाको हक सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा नेपालको सूचनाको हकको अवस्था र सूचनाको हकसम्बन्धी ऐनमा भएका व्यवस्था बारेमा अन्तरक्रिया गरिएको छ ।

फ्रिडम फोरमको आयोजना तथा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड हेटौँडा शाखाको समन्वयमा शुक्रबार हेटौँडामा सूचनाको हक सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा सूचनाको हक सम्बन्धमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा सूचनाको हकको आवश्यकता र उपयोगितामाथि चर्चा गर्दै सूचनाको हकले मुलुकलाई सुशासन र समृद्ध बनाउन सहयोग पुग्ने बताइएको थियो । लघुवित्त वित्तीय संस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको कार्यक्रममा सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनमा जोड दिइएको थियो ।
सन् २००२ बाट २८ सेप्टेम्बरका दिनलाई हरेक वर्ष सूचनाको हक सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाइदै आएको छ ।

सूचनाको हकसम्बन्धी ऐन प्रभावकारी कार्यान्वयनमा नआएको भन्दै सूचना नै शक्ति भएको ऐन कार्यान्वयनमा दवाव सिर्जना गर्नु कार्यक्रममा बताइएको थियो । कार्यक्रममा फ्रिडम फोरमका प्रतिनिधि राममणि दाहालले सहजीकरण गर्दै फ्रिडम फोरमले निर्माण गरेको सूचनाको हकसम्बन्धी आरटीआइ नेपाल एप ९एप्लिकेसन० का बारेमा जानकारी गराउनु भएको थियो ।

सूचनाको हकको विगत, उपयोगिता, आवश्यकता, ऐनमा भएका व्यवस्था र आरटीआइ नेपाल एप्लिकेसनको प्रयोगको बारेमा जानकारी गराउँदै उहाँले सूचनाको हकको प्रयोग गर्ने संस्कृतिको विकासमा जोड दिनुभयो । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुरका उपाध्यक्ष तारा कार्की, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड हेटौँडा शाखाका प्रमुख दीपक महतलगायतको उपस्थिति रहेको थियो ।

नेपालको संविधानमा मौलिक हकको रुपमा रहेको सूचनाको हकलाई सुनिश्चित गर्न २०६४ सालमा सूचनाको हक सम्बन्धी ऐन ल्याइएको थियो । नेपालमा तत्कालीन व्यवस्थापिका संसदबाट पारित भई २०६४ साउन ५ मा प्रमाणीकरण र २०६४ भदौ ३ गतेदेखि यो ऐन कार्यान्वयनमा आएको थियो । फ्रिडम फोरमले लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता, दण्डहीनता विरुद्ध, सूचनाको हकलगायतका क्षेत्रमा वकालती र अभियान सञ्चालन गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*