७ मंसिर, हेटौँडा
हेटौंडा–१९ मा भएका विभिन्न विकास निर्माणको काममा व्यापक अनियमितता भएको दावी गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले भण्डफोर अभियान सञ्चालन गर्ने भएको छ ।
शनिबार हेटौंडा–१९, मा भएको तरुण दलको वडा भेला तथा अधिवेशनले त्यसक्षेत्रको विकास निर्माणसहित विभिन्न योजना तथा कार्यक्रमहरुमा अनियमितताको गन्ध आएको दावीसहित चरणबद्ध भण्डफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको नेपाली कांग्रेस मकवानपुरका युवा नेता राजेश भेटवालले जानकारी दिए । उनका अनुसार पार्टीसँगको समन्वयमा आइतबारदेखि चरणबद्धरुपमा वडा कार्यालयमा भएका अनियमितता, भ्रष्टाचार र योजना तथा कार्यक्रमका विषयमा देखिएका त्रुटीहरुबारे जानकारी गराउँदै चरणबद्धरुपमा भण्डफोर अभियान सञ्चालन गर्न लागिएको हो ।
भेलाले सुशन रिमालको सभापतित्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिमा उपसभापति उमेश मुक्तान, रविन्द्र जिम्बा, सचिवमा सानु लामा, शर्मीला मोक्तान, कोषाध्यक्ष विमिरा श्रेष्ठ, सहसचिव राजिन लामालगायत रहेका छन् । भेलाले खेलकुद विभाग संयोजकमा अरुण थापालाई चयन गरेको छ । नेपाली कांग्रेस मकवानपुरका उपभासपति विष्णु लामिछानेको प्रमुख आतिथ्यतामा भएको भेलामा जिल्लाका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । भेलामा उपस्थित नेताहरुले प्रत्येक वडामा नेपाली कांग्रेसले यसैगरी रचनात्मकरुपमा स्थानीय सरकारको विरोध गर्नुपर्ने र स्थानीय तहमा भइरहेको अनियमितता तथा भ्रष्टाचारको खुलेर विरोध गर्नुपर्नेमा जोड दिएका थिए ।