१२ माघ, हेटौँडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक रौतहटको डुमरिया नगरपालिका वडा नम्बर ९ बस्ने ३९ बर्षीय महमद खलिद, डुमरिया–४ का १९ बर्षीय अशोक कुमार र भारत विहार मोतिहारी बसन्तपुरका २२ बर्षीय विनोद सहनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाँजा तस्करहरु निकै सकृय भई बिरामि बोक्ने एम्बुलेन्स नै गाँजा ओसारप्रसार गरेको पाईएको छ । शनिबार साँझ मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको डुमरिया स्वास्थ्य चौकीको एम्बुलेन्स बा २ झ १७४९ नम्बरको नेवारपानीमा जाँच गर्दा ३ वटा झोलामा ६ वटा पोका बनाई लुकाई राखेको ३० किलो ६ सय ग्राम लागुऔषध गाँजा बरामद भएको थियो । प्रहरीले उनिहरुको साथबाट ९१ हजार रुपैँया र २ हजार २ सय भारतीय रुपैँया समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रहरीका अनुसार उनिहरुलाई लागुऔषध नियन्त्रण ऐन अन्तरगत कारवाही र २ बर्षदेखि १० बर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैँया जरिवाना तथा सवारी साधन जफत हुने कानूनी प्रावधान रहेको बताउछन् ।