मकरीमा निसुल्क स्वास्थ्य शिविर, ३१० ले लिए सेवा

हेटौडा टुडे
१८ माघ २०७६, शनिबार २०:३७

माघ १८, हेटौडा

दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बार्षिकोत्सव तथा सहकारीद्वारा सञ्चालित रेडियो मकवानपुरको दशौं बार्षिकोत्सवको अवसरमा आयोजना भएको निशुल्क स्वास्थ्य शिविरमा ३१० जना लाभान्वित भएका छन्  । शनिबार मनहरी गाउँपालिकाको १ नम्बर वडास्थित मकरीमा स्वास्थ्य शिविर भएको हो ।

मनहरी गाउँपालिका र मनहरी १ नम्बर वडा कार्यालयको सहयोग एवम् चुरेहिल अस्पताल प्रा. लि र सुविधा पोलिक्लिनिकको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर भएको हो । शिविरमा प्रेसर, सुगर तथा हाडजोर्नीको समस्या भएका बिरामी बढी भेटिएको चुरेहिल अस्पतालका प्रशासकीय अधिकृत विवेक मानन्धरले जानकारी दिए । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि बानियाँले सहकारी र मिडियाले स्वास्थ्य शिविरको आयोजना गरेर ग्रामीण भेगका जनतालाई सेवा गरेको भन्दै खुसी व्यक्त गरे । यस्तै मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले सहकारी र मिडिया समुदायप्रति लक्षित हुनु आवश्यक रहेको धारणा राखे । मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनालले स्वास्थ्य शिविर कार्यक्रमको संयोजन गर्न पाएकोमा खुसी व्यक्त गर्दै सर्वसाधारण लाभान्वित भएको बताए ।

कार्यक्रममा चुरेहिल अस्पतालका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर जयराज शर्माले चुरेहिलले दिँदै आएको सेवाको बिषयमा जानकारी दिँदै रेडियोको बार्षिकोत्सवमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाले दिव्यतारा र रेडियो मकवानपुर जनताप्रति उत्तरदायी रहेको भन्दै आगामी दिनमा पनि सामाजिक कार्यले निरन्तरता पाउने बताइन् । रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले रेडियोको बार्षिकोत्सव र सहकारीको स्थापना दिवसको अवसरमा गरेको कार्यक्रमको बिषयमा जानकारी गराएका थिए । स्वास्थ्य शिविरको उद्घाटनमा जिल्ला सहकारी संघका सचिव दिनेश उपाध्याय, दिव्यतारा सहकारीका सचिव गणेश भेटवाल, नेपाली कांग्रेस मकवानपुर सल्लाहकार भरत पराजुली, नेता शंकर न्यौपाने, चुरेहिल अस्पतालका सञ्चालक नारायणलाल श्रेष्ठ, वडा सदस्यहरु नवराज पौडेल, सावित्री घिमिरे, सोमलक्ष्मी प्रजा, अक्कलबहादुर थिङसहित विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । सहकारीको स्थापना दिवस तथा रेडियोको बार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको थियो । आइतबार सप्ताहव्यापी कार्यक्रमको समापन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*