फागुन २३ हेटौंडा /जिल्ला प्रशासन कार्यालय मकवानपुरले यसपाली होली खेल्न प्रतिबन्ध लगाएको छ ।हेटौंडालगायत जिल्लाका सबै क्षेत्रमा रंगको पर्वको रुपमा मानिने होली यसपाली कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै प्रतिबन्ध लगाएको हो ।
बिहीवार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकले जिल्लामा सभा, समेल्लन तथा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न निर्देशन दिएको थियो । कोरोना भइरसको संक्रमणलाई मध्यनजर गर्दै जनमानसमा यसको संक्रमण फैलिन नदिनको लागि भीडभाडमा नजान पनि प्रशासनले अनुरोध गरेको छ ।
सभा, सम्मेलन, सार्वजनिक कार्यक्रम नगर्न निर्देशन दिएपछि आज शुक्रबार प्रशासनले सूचना जारी गर्दै होली खेल्ने क्रममा हुने भीडभाडको कारण जोखिम बढ्न सक्ने देखिएकोले होलीको कार्यक्रम आयोजना नगर्न र त्यसमा सहभागी नहुन अनुरोध गरेको हो ।
प्रशासनले कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लास्थित स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरुलाई आवश्यक समयमा स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने गरी तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।