मकवानपुर २४ फागुन । युवा उद्यमी तथा उद्योग संघ मकवानपुरका सदस्य बुद्धराज अर्यालले नेपाल पत्रकार महासंघ सिन्धुली शाखालाई १ थान कम्प्यूटर सहयोग गर्नुभएको छ । आज शनिबार पत्रकार महासंघ सिन्धुली शाखाले आयोजना गरेको एक कार्यक्रममा उहाँले कम्प्यूटर हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री र विशिष्ट अतिथि बुद्धराज अर्यालले महासंघका अध्यक्ष राजन कार्कीलाई कम्प्यूटर हस्तान्तरण गर्नुभएको हो । कम्प्यूटर हस्तान्तरण पश्चात सिन्धुलीका पत्रकारहरुको जिज्ञासाको संबोधन गर्दै युवा व्यवसायी अर्यालले भन्नुभयो ‘ सिन्धुलीको समग्र पत्रकारिता क्षेत्रको विकासका लागि सहयोग गर्ने अवसर मिल्यो, निकै खुशी लागेको छ । ’ उहाँले सञ्चार क्षेत्रमा स्रोत साधन जति धेरै भयो त्यतिनै पत्रकारिता क्षेत्र सबल र मजबुत हुने धारणा राख्नुभयो । उहाँले आफु सामाजिक काममा सक्रिय रहँदै आएको स्मरण गर्दै आगामी दिनहरुमा पनि सञ्चार क्षेत्रको विकासका लागि लागिपर्ने बताउनुभयो । त्यसैगरी कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका विशिष्ट अतिथि एवं पत्रकार महासंघ बागमती प्रदेशका सल्लाहकार गिरिजा अधिकारीले प्रदेशका विभिन्न शाखाहरुलाई मजबुत बनाउन पहल गर्दै गर्दा युवा व्यवसायी अर्यालले आफ्नो अभियानमा सहयोग पुर्याएको भन्दै अर्यालप्रति आभार व्यक्त गर्नुभयो । उहाँले प्रदेशका अन्य शाखाहरुसंग पनि आफु निरन्तर सम्पर्कमा रहेर पत्रकारहरुको शुख दुखको साथी भइरहेको बताउनुभयो । पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष राजन कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रमा सिन्धुली शाखाका संस्थापक अध्यक्ष शेषराज दाहाल, पूर्व अध्यक्षहरु, महासंघका पदाधिकारीहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।