चैत ९ , वीरगञ्ज /वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिने भएको छ ।
नेपाली नागरिकहरुका हकमा होम क्वारेन्टाइनमा बस्ने सहमति गरेर छाडिनेछ । कहाँबाट आएको हो, कुन स्थानीय तहमा के-का लागि जाने लगायतका विवरण लिएर होम क्वारेन्टाइनमा बस्ने सहमति लिएर छोडिने सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । ‘सेल्फ क्वारेन्टाइनमा बस्नेहरुको विवरण लिएर पठाउँछौं,’ सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने । उनीहरुको विवरण सम्बन्धित स्थानीय तहमा पठाएर अनुगमन गर्न भनिने उनले बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा आइतबार बसेको जिल्ला सुुरक्षा समितिको बैठकले वीरगञ्ज–रक्सौल बाहेकका सबै नाका बन्द गर्ने निर्णय पनि गरेको छ । बैठकले शंकराचार्य गेटस्थित हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउने, वीरगञ्ज–१६ स्थित नेपाल आर्युवेद मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा क्वारेन्टाइन स्थापना गरी सञ्चालन र व्यवस्थापनको संयोजन गर्ने जिम्मा नेपाली सेनाले दिने निर्णय गरेको छ । साथै सहयोगका लागि वीरगञ्ज महानगरपालिका, नारायणी अस्पताल, नेशनल मेडिकल कलेज लगायतलाई अनुरोध गरिनेछ ।
सीमा क्षेत्रमा भीडभाड कम गर्न वीरगञ्जबाट रक्सौलतर्फ जाने स्थानीय रुटका टेम्पो, ई-रिक्सा, टाँगा लगायतका सवारी साधनलाई भन्सार गेटबाटै फर्काउने निर्णय भएको छ । भारततर्फ जाने लामो रुटका गाडीहरु यसअघि नै रोकिएका छन् ।अनलाइन खबरमा समाचार छ ।