हेटौंडा। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नआएपछि विपक्षी दलले विरोध जनाइरहेका छन।
बिहीबार प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री एवं गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई समय दिएका थिए। सभामुख अर्यालले शाहको तर्फबाट गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए।
त्यसलगत्तै विपक्षी दलले उभिएर विरोध जनाएका हुन्। उनीहरूले प्रतिनिधि सभाको नियमावली अनुसार, प्रधानमन्त्री शाह उपस्थित हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको नियमावलीको नियम ५६ (१)मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था छ। त्यही व्यवस्थाअनुसार, प्रधानमन्त्री आउनुपर्ने उनीहरूको भनाइ छ।
आज जेठ ७ गते भएकाले पहिलो साता सकिन लागेकाले प्रधानमन्त्री संसद्मा आउनुपर्ने उनीहरूले जोड दिएका छन्। प्रधानमन्त्री शाह संसद्मा नआउँदासम्म विरोध जारी रहने विपक्षी दलका सांसदले जनाएका छन्।





















