हेटौंडा। सांसदहरूले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार (जेठ ७) बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद जयपति रोकायाले सरकारले वार्ता र संवादका माध्यमबाट दुई जिल्लाबीचको सीमा विवादबारे तत्काल समाधान खोज्न माग गरे ।
“हुम्ला र बाजुरा क्षेत्रको विवादलाई लिएर कर्णाली राजमार्ग नै अवरुद्ध भएको छ । राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बिरामी, परीक्षा दिने विद्यार्थी, अतिआवश्यक कामका लागि जानुपर्ने सबैलाई असर परेको छ,” उनले भने, “दुई जिल्लाबीचको सीमा विवाद सरकारले संवादबाट समाधान खोजी राजमार्ग तत्काल खुलाउनुपर्छ ।”
सांसद केपी खनालले हुम्ला र बाजुराको सीमा रानीसिंह क्षेत्रको विवादका कारण धनगडी उपमहानगरपालिकाका प्रमुख गोपी हमालसहितको समूहप्रति दुर्व्यवहार भएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
उनले बाजुराको हिमाली गाउँपालिकाको साइपाल क्षेत्रमा जडीबुटी र वन्यजन्तुको अपार भण्डार भएको बताए । त्यहाँ वर्षौंदेखि तस्करले कर छलेर अवैध तरिकाले जडीबुटी र वन्यजन्तुको बेचबिखन गरेको विषयमा प्रहरीचौकी राखेर नियन्त्रण गर्न खोज्दा दुर्व्यवहार भएको उनले उल्लेख गरे । उनले त्यस क्षेत्रको नागरिकको सुरक्षा, जडीबुटीको संरक्षण र घाइतेको उपचार गर्न सरकारसँग माग गरे ।
सांसद जनकराज गिरीले यही जेठ ४ गते हिमाली गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक महेश धामी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापालगायत व्यक्तिहरूमाथि सांघातिक आक्रमण गरिएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए । यो क्षेत्रको सीमा विवाद तत्काल समाधान गर्न उनले सरकारसँग माग गरे ।






















