प्रदेश २ का कानुनमन्त्री र सांसदलाई कोरोना

टुडे संवादाता
२२ श्रावण २०७७, बिहीबार १०:०७

 साउन २२,जनकपुर/ प्रदेश २ का कानुनमन्त्री र एक सांसदलाई कोरोना भाइरसको संक्रमण भएको छ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। उनले बुधबार साँझ आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको बताए।

उनी साउन १८ गते काठमाडौंबाट जनकपुर फर्केका थिए।  उनको साउन १९ गते स्वाब संकलन गरिएको थियो।

बुधबार साँझ आएको रिपोर्टमा कोरोना भाइरसको संक्रमण देखिएको हो। उनले आफूलाई संक्रमण भएको र पछिल्ला केही दिन आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न अपिल गरेका छन्।

उनी बुधबार साँझदेखि नै मन्त्री निवासमै क्वारेन्टाइनमा बसेका छन्। स्वास्थ्य अवस्था सामान्य रहेकाले अस्पताल भर्ना भएका छैनन्।

यस्तै, प्रदेश २ की सांसद रिनाकुमारी यादवलाई पनि कोरोना संक्रमण भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको जनाएको छ। उनी जनता समाजवादी पार्टी सांसद हुन्।

प्रदेश २ मा कोरोना संक्रमण दिनदिनै बढ्दै गएको छ। बिहीबारसम्म कोरोनाबाट २१ जनाको मृत्यु भएको छ भने संक्रमितको संखया दुई हजार पाँच सय ७२ पुगेको छ।

कोरोना संक्रमण फैलिन थालेपछि प्रदेश दुईका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जनकपुर, वीरगञ्जलगायतका ठूला शहरहरुमा पनि निषेधाज्ञा लागू गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*