प्रहरी हिरासतमा एक महिलाको मृत्यु

टुडे संवादाता
१५ आश्विन २०७७, बिहीबार १५:४२

रौतहट/रौतहटमा एक महिलाको प्रहरी हिरासतमा रहेकै बेला मृत्यु भएको छ। गरुडास्थित् प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको हिरासतमा रहेकी गुजरा नगरपालिका–२ कटानी बजारकी राधिका राउतको मृत्यु भएको हो।

वडाध्यक्ष अशोककुमार थारुको रोहवरमा महिलालाई बुधबार साँझ प्रहरी चौकी रंगपुरलाई बुझाइएको थियो। रंगपुर प्रहरी चौकीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई बुझाएको थियो। चन्द्रनिगाहपुरस्थित् इलाका प्रहरी कार्यालयको हिरासतमा महिलालाई राख्न असहज भएपछि गरुडामा रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको थियो।

गुजरा नगरपालिकाकै कटानी बजारका एक युवकसित शारीरिक सम्बन्ध राखेको भन्दै महिलाका श्रीमान् सुमन राउतले वडाध्यक्षको रोहवरमा उनलाई प्रहरीलाई बुझाएका थिए।

राधिका लामो समयदेखि छारे रोगको बिरामी भएको र औषधि सेवन गरिरहेको बुझिएको छ। स्वास्थ्य जाँच गर्ने क्रममा पनि महिलाले आफू छारे रोगको बिरामी भएको जानकारी गराएको प्रहरीले जनाएको छ।

मृतक महिलाका श्रीमान् राउत र वडाध्यक्ष थारुले पनि मृतक महिला लामो समयदेखि छारे रोगको उपचार गराइरहेको प्रहरीसमक्ष बताएका छन्।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, डीएसपी भरत श्रेष्ठले बताए। महिलाको पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारणबारे थप जानकारी आउन डीएसपी श्रेष्ठले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*