हेलमेटमा लुकाएर भारतबाट ल्याइँदै गरेको रु.१० लाख बरामद थप सामग्री

टुडे संवादाता
३ कार्तिक २०७७, सोमबार १०:००

रौतहट/रौतहटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको रु.१० लाखसहित एक जनालाई पक्राउ गरेको छ। बाराको सिम्रौनगढ नगरपालिका–७ का २० वर्षीय दीपक पटेलको हेलमेटबाट प्रहरीले उक्त रकम बरामद गरेको हो।

रौतहटको ईशनाथ नगरपालिका–७ स्थित सडकमा सवारी साधन तथा पैदल यात्रीहलाई चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेका उनलाई प्रहरीले पक्राउ गरेको छ। उनले हेलमेटभित्र रु.१ हजार दरका नोटको आठ वटा र रु.५०० दरका नोटको चारवटा गड्डी राखेका थिए। प्रहरीले उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।

गएको १५ असोजमा पनि रौतहट प्रहरीले रु.१५ लाखसहित एक जनालाई पक्राउ गरेको थियो। गौर नगरपालिका–२ महादेवपट्टिस्थित दशगजा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका एक भारतीय पैदल यात्रीबाट प्रहरीले उक्त रकम बरामद गरेको थियो।

कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि भारतसँगको सीमानाका बन्द भए पनि लुकीछिपी नेपाल–भारत आवागमन भइरहेको छ। नेपालबाट भारततिर सामान किन्न जानेको संख्या ठूलो छ। सीमावर्ती भारतीय बजारका भारतीय व्यवसायीले नेपाली रुपैयाँ चलाउने गरेका छन्। भारतीय व्यापारीसँग थन्किएका र अन्य स्रोत नखुलेका नेपाली रुपैयाँ यसरी नेपाल पठाउने गर्छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*