साथीको हत्या गरी फरार भएका मकवानपुर गढीका थिङ १५ महिनापछि पक्राउ

टुडे संवादाता
२४ कार्तिक २०७७, सोमबार १७:४७

हेटौंडा/आफ्नै साथीको हत्या गरी फरार भएको आरोपमा प्रहरीले मकवानपुर गढी गाउँपालिका–१ का २८ वर्षीय मानकुमार थिङलाई १५ महिनापश्चात् पक्राउ गरेको छ ।

ललितपुर बालकुमारी डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका–२ गरास घर भएका साथी ३३ वर्षीय हरि खड्काको २०७६ साउन २८ गते हत्या गरी फरार रहेको भन्दै उनलाई सोमबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिं राठौरले जानकारी दिए । उनका अनुसार महानगरीय अपराध महाशाखा बानेश्वरबाट खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न थिङलाई मकवानपुर गढी गाउँपालिका–१ ठाँटीटोलबाट पक्राउ गरेको हो । ललितपुर महानगरपालिका–९ गुहे पोखरीमा खड्काको हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

खड्का र थिङबीच करिब ९ वर्ष अगाडिदेखि मूर्ति बनाउने काम गर्ने क्रममा एकआपसमा चिनजान भइ खड्काकी पत्नीसँगसमेत थिङको चिनजान भइ मोबाइलमा म्यासेज आदानप्रदान भएपछि भएको विवादपश्चात् उक्त घटना भएको हो । म्यासेजको कुरा खड्काले थाहा पाएपश्चात उनीहरुबीच विवाद भएकोमा २०७६ साउन २५ गते ललितपुर महानगरपालिका–९ गुहेपोखरीमा खड्कालाई बोलाएर थिङ समेतका व्यक्तिहरुले कुटपिट गरी हत्यापश्चात फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि नै घटनामा संलग्न आरुष थिङ, मृतक खड्काकी पत्नी विष्णु खड्का, दीपक बम्जन, राम बम्जन र सागर वाइवालाई पक्राउ गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*