
काठमाडौं/नेपाल प्रहरीका दुई एसपीसहित एक इन्स्पेक्टर निलम्बनमा परेका छन् । अनुचित कार्य गरेको र प्रहरी संगठनको छविमा आँच आउने काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले दुई प्रहरी उपरीक्षक र एक प्रहरी निरीक्षकलाई निलम्बन गरिएको हो ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता बसन्त कुँवरका अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक बिमल बस्नेत, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादव र ईलाका प्रहरी कार्यालय कपिलकोट सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसियालाई निलम्बन गरिएको हो ।
प्रहरी संगठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीहरुलाई असर पुर्याउने किसिमको कार्य गरेकाले निलम्बन गरिएको प्रवक्ता कुँवरले लोकान्तरलाई जानकारी दिए ।
छानबिनका क्रममा आफूलाई सुम्पिएको जिम्मेवारी र दायित्व पूरा नगरी प्रहरी नियमावली, २०७१ विपरित आचरण व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको पाइएको उनले बताए ।
उनीहरूलाई थप छानबिनका लागि ६ महिनाको लागि निलम्बन गरिएको कुँवरले जानकारी दिए ।

