बस्तीपुर जेसीजको जेसीज सप्ताह सुरु

हेटौंडा टुडे
१७ मंसिर २०७७, बुधबार १९:१४

हेटौंडा/बस्तीपुर जेसीज हाँडीखोलाको जेसीज सप्ताह बुधबारबाट सुरु भएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको डर कायमै रहेकोले तीन दिन विविध कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउन सुरु गरिएको जेसीज अध्यक्ष जयराज सुवेदीले जानकारी दिए ।

जेसीज सप्ताह अन्तर्गत बुधबार एकैदिन तीनवटा कार्यक्रम भएको छ । बिहान हेटौंडा–१९ नेवारपानीमा रहेको डोदोन छोइलिङ बौद्ध गुम्बा समितिमा आश्रित अनाथ बालबालिकाको लागि खाद्यान्न सहयोग गरी जेसीज सप्ताह सुरु गरिएको हो । जेसीज अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१९ नम्बर वडा सदस्य ईन्दिरा तामाङको प्रमुख आतिथ्यता रहेको थियो । अनाथ बालबालिकाको पालनपोषण एवम् शिक्षाको समेत जिम्मेवारी लिएको गुम्बामा जेसीजले प्रत्येक बर्ष सहयोग गर्दै आएको छ । कार्यक्रममा गुम्बाका प्रमुख लामा गुरु सोइनाम दोर्जे लामा, गुम्बा व्यवस्थापन समिति अध्यक्ष वीरबहादुर मोक्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए । जेसीज सप्ताह मूल कार्यक्रम संयोजक रबिन ढकालले स्वागत गर्दै जेसीज सप्ताहमा आयोजना हुने कार्यक्रमको बिषयमा जानकारी गराएका थिए ।
यस्तै बुधबारै मनहरी गाउँपालिका–५ बसन्तपुरमा रहेको भोजसिद्ध माविका विद्यार्थीका लागि मास्क, स्यानीटाइजर, सावुन लगायतका सामग्री सहयोग गरिएको छ । कार्यक्रम संयोजक पम्फा रोक्काको संयोजकत्व एवम् अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गजाधर सुवेदी ‘केशव’को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेश रिजालले विद्यालयको अवस्थाको बिषयमा जानकारी दिएका थिए ।
तेस्रो कार्यक्रम अन्तर्गत बुधबार दिउँसो हेटौंडा–३ लेवटमा रहेको लेवट चौकीलाई सूचना बोर्ड सहयोग हस्तान्तरण गरिएको छ । कार्यक्रम संयोजक विदुर सिटौलाको संयोजकत्व एवम् ३ नम्बर वडा सदस्य विमला बर्तौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सवारी चेकिङको समयमा राजमार्गमा राख्नका लागि सूचना बोर्ड हस्तान्तरण गरिएको हो । लेवट प्रहरी चौकीका प्रमुख रुपक थापाले नागरिक र प्रहरीको सहकार्यले मात्रै शान्ति सु व्यवस्था कायम हुनसक्ने बताए ।

प्रमुख अतिथि बर्तौलाले ३ नम्बर वडा कार्यालय जेसीजसंग सहकार्यका लागि सदैव तयार रहेको बताइन् । कार्यक्रममा बस्तीपुर जेसीजका पूर्व अध्यक्ष बसन्तकुमार सिटौला, सल्लाहकार नारायणबहादुर थोकर, अध्यक्ष सल्लाहकार प्रकाश लामा थोकर, सक्षम युवा क्लवका उपाध्यक्ष राजु लामा थोकर, नेकपाका वडा सचिव लोक लामा, समाजसेवी तीर्थराज दाहाललगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*