हेटौंडा/हेटौंडा–नारायणगढ सडकखण्ड अन्र्तगत मनहरी ६ मा गएराति रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ बस्ने ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक रानाका अनुसार गएराति चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ३०–३०–१ प ५१३१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकमै रोकी राखेको ना ५ ख ५३३७ नम्बर ट्रकमा ठोकिएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उप्रेतीको उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा राति नै बाटोमा मृत्यु भएको हो ।
प्रहरीले सडकमा रोकीराखेको उक्त ट्रकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।