नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी

टुडे संवादाता
९ पुष २०७७, बिहीबार ११:२५

काठमाडौं/नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी रहने भएको छ । आजको बैठकले संसद विघटनविरुद्ध राष्ट्रिय एकता र मेलमिलाप दिवसका दिन देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गर्नेछ ।

यसअघि विहीबार बसेको बैठकमा बोल्ने नेताहरुले संसद विघटनविरुद्ध सडकमा जान ढिलाइ गर्न नहुने धारणा राखेका थिए । असंवैधानिक कदम सच्याउन काँग्रेस आफ्नै बलबुताले सडकमा जानुपर्ने उनीहरुको भनाई थियो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेको र यो असंवैधानिक भन्दै काँग्रेसले विरोध गर्दै आएको छ । तर, यस बारेमा पार्टीका शीर्ष नेताबीचमा कुरा मिलेको छैन ।

तत्काल आन्दोलन गर्ने कि नगर्ने भन्नेमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मतभेद छ । बुधबारको बैठकमा पनि देउवा र पौडेलबीच चर्काचर्की भएको थियो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध सडक संघर्षमा जाने पक्षमा पौडेल समूह देखिएको छ । उता कांग्रेस सभापति शेरबहादुर देउवाले भने तत्काल सडक संघर्षलाई टार्न बैठक लम्ब्याउन खोजेको पौडेल समूहको आरोप छ ।

देउवाले अदालतको आदेश र निर्वाचन आयोगको निर्णय कुर्ने कुरा गरिरहेका छन् । यसअघि बसेको सर्वदलीय बैठकमा तीनै दलले केन्द्रीय समितिको बैठक बोलाएर आन्दोलनको रणनीति बनाउने सहमति भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*