
बैतडी/बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले एक यूवकलाई पक्राउ गरेको छ । प्रहरीको अनुसन्धानले उनकै सहपाठीले बलात्कार र हत्या गरेको खुल्न आएको छ । हत्यारा सहपाठी भागरथीको छिमेकी समेत रहेका उनलाई बुधबार (आज) सार्वजनिक गर्ने भएको छ । ।
अभियुक्त युवक भागरथी अध्ययन गर्दै आएको सनातन धर्म उच्च माविमा कक्षा ११ मा अध्ययनरत हुन् ।
दिनेश भट्ट नाम गरेका युवक किशोरावस्थाका छन् । उनले प्रहरी समक्ष बलात्कारपछि हत्या स्वीकार गरेका छन् । प्रहरीले उनलाई आज सार्वजनिक गर्ने भएको छ ।
दिनेशले भागरथीलाई भीरमा लडाएर बलात्कारपछि हत्या गरेको स्वीकार गरेका हुन् । भागरथीको परिवारसँग ती युवकको परिवारको सम्बन्ध बिग्रेको थियो । त्यसपछि उनीहरु गाउँ छाडेर केही पर बस्दै आएका थिए । समाजमा ती युवकको चालचलन ठिक थिएन । उनको व्यक्तिगत चालचलन ठिक नभएकाले पनि निगरानीमा थिए ।
भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा ,उनीहरुबीच दिदीभाइको नातासमेत पर्छ । दिनेशको विद्यालय छुट्टी समय ३ बजेर १५ मिनेटमा हुन्थ्यो भने भागरथीको २ बजेर ३० मिनेटमा ।
तर माघ २१ गते दिनेश २ कक्षा छाडेर हत्या गर्नकै लागि बाटोमा कुरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सुरुमा दिनेशले आफू स्कुल बिदा भएपछि मात्रै घर गएको बताए पनि पछि भने छिटो निस्किएको स्वीकार गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।
स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि खोजी सुरू भएको थियो ।
उनी २२ गते बिहान कच्ची सडकभन्दा ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । मेडिकल रिपोर्टमा भने उनको बलात्कारपछि हत्या भएको प्रहरीले बताउँदै आएको छ ।
तर हत्या स्वीकार गरेका दिनेशले आफूले बलात्कार नगरेको बयान दिएको स्रोत बताउँछ । घटना २१ गते दिउँसो २ः४० देखि २ बजेर ४७ मिनेटको बीचमा भएको बताइएको छ ।
अनुसन्धानकै क्रममा प्रहरीले दिनेशलाई पक्राउ गरेको हो । उनलाई अभियुक्तको रुपमा सार्वजनिक गर्ने प्रहरी तयारी छ ।
पक्राउपछि दिनेशको भनाइलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो,“म बाटोमा पहिल्यै बसेको थिएँ । भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पनि पछाडिबाट धक्का दिएँ । उनी लडेर बेहोस भइन् अनि घाँटी थिचेर मारेँ ।”
उनले आफूले फुपुको बदला लिन हत्या गरेको बताएको प्रहरी स्रोत बताउँछ । आफूले पहिल्यै मार्न चाहेको भए पनि नमिलेको उनले प्रहरीसमक्ष बयान दिएको स्रोत बताउँछ ।
उनले भागरथीलाई लडाएर बेहोस बनाएपछि बलात्कार गर्न खोजेको भने बयानमा स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दियो । बलात्कारको प्रयास गरेको तर नगरेको बयान दिएको प्रहरीले स्रोतले जानकारी दियो ।
हत्यापछि आफैँले भागरथीको मोबाइलको ब्याट्री झिकेर फालेको दिनेशले बताएका छन् । त्यसपछि उनी नियमितरुपमा विद्यालय समेत गइरहेका थिए ।
भागरथी हत्या अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय बैतडीको विशेष टोली खटिएको थियो ।

