ऐतिहासिक गढीहरुको संरक्षणका लागि मकवानपुरगढीदेखि सिन्धुलीगढीसम्म साइकल यात्रा

हेटौंडा टुडे
२२ फाल्गुन २०७७, शनिबार २१:००

हेटौंडा/ आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र ऐतिहासिक गढीहरुको संरक्षणका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने उद्देश्यले मकवानपुरगढीदेखि सिन्धुलीगढीसम्म शनिबारदेखि साइकल यात्रा सुरु गरिएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले शनिबार मकवानपुरगढीमा साइकल यात्री पुस्कर शाहलाई साइकल र राष्ट्रिय झण्डा हस्तान्तरण गरेर साइकल यात्राको शुभारम्भ गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि एवं मुख्यमन्त्री पौडेलले साइकल यात्रीहरुलाई उत्साह भर्न साइकल पनि डोर्‍याएका थिए । कार्यक्रमका मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले साइकल यात्रीहरुको स्वागत गर्दै ऐतिहासिक गढीको बारेमा जानकारी गराएका थिए ।

मकवानपुरगढीबाट हेटौंडा–फापरबारीको सडकखण्ड हुँदै शनिबार बेलुका सिन्धुलीको हरिहरपुरगढीमा बस्ने र आइतबार साइकल यात्रुहरु सिन्धुलीगढी पुगेर आफ्नो यात्रा समापन गर्नेछन् । चर्चित बिश्व साइकल यात्री पुस्कर शाहको अगुवाइमा ३ जना महिला सहित १ सय २२ जना साइकल यात्रीहरु मकवानपुरगढीबाट यात्रा सुरु गरेको मन्त्रालय सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए ।

मकवानपुरगढीबाट सिन्धुलीगढीको दूरी १ सय ३१ किलोमिटर रहेको छ । साइकल यात्राका लागि साढे ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकएको छ ।वाग्मती प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयोजकत्वमा गढीदेखि गढीसम्मको साइकल यात्रा आयोजना गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*