
हेटौँडा/ चितवनमा कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज (बुधबार) पनि जारी छ । हिजो भदौ १५ गते देखि जिल्लाभर खोप अभियान शुरुभएको हो । १८ वर्ष उमेर पुरा भएकाहरुलाई मात्र कोभिड १९ विरुद्धको खोपको पहिलो मात्रा लगाईएको छ । खोप भदौ १८ गते सम्म चल्ने छ । जिल्लाको विभिन्न स्वास्थ्य कार्यालयबाट १८ वर्ष माथिका विद्यार्थीले खोप लगाउन सक्ने छन् । खोप चिकित्सा क्षेत्र तथा प्राविधिकतर्फका विद्यार्थीहरुलाई खोप लगाइनेछ । यसबाहेक उद्योग संघमा आबद्ध कर्मचारी तथा मजदुरहरु, अटोमेकानिकल व्यवसायीसँग आबद्ध मजदुरहरु, पर्यटनमा आबद्ध होटल व्यवसायी तथा कर्मचारीहरुलाई खोप उपलब्ध गराइनेछ । भदौ १५ देखि १८ गतेसम्म चितवनका सबै पालिकामा लगाइने खोपको लक्षित समूह एकै किसिमका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार खोपको पहिलो दिन हिजो २ हजार ३ सय २० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । जसमा महिला १ हजार २ सय ५९ रहेका छन् भने पुरुष १ हजार ६१ जना रहेका छन् । जिल्लाको ७ स्थानिय निकाय अनुसार भरतपुर महानगरपालिकाका १ हजार ६६ जनाले खोप लगाएका छन् । जसमा ७ सय ४९ जना महिला र ३ सय १७ जना पुरुष रहेका छन् । रत्ननगर नगरपालिकामा ६ सय ७१ जनाले खोप लगाएका छन् । जस्मा २ सय ८२ महिला र ३ सय ८९ पुरुष छन् । राप्ती नगरपालिकामा २ सय ६७ जनाले खोप लगाएका छन् । जस्मा ६७ जना महिला र २ सय जना पुरुष रहेका छन् । कालिका नगरपालिकामा ३ सय १७ जनाले खोप लगाएका छन् । जसमध्य १ सय ६१ जना महिला र १ सय ५५ जना पुरुष रहेका छन् ।
खैरहनी, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भने खोप लगाईएको छैन । खोप अभियान चलेको ४ पालिका मध्य भरतपुर महानगरपालिकामा एष्ट्राजेनिका खोप लगाईएको थियो । रत्ननगर, राप्ती र कालिकामा भेरोसेल खोप लगाईएको हो । आजको तथ्याङ्क छिट्टै सार्वजनिक गरिने स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

