
हेटौँडा/ मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशका अधिकांश ठाउँमा निरन्तर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार साँझसम्म अधिकांश समय वर्षा हुने तथा दिउँसो केहीबेर रोकिने क्रम चलिरहने महाशाखाको भनाइ छ ।
दिउँसो/ देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको छ ।
राति/ देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन पनि महाशाखाले आह्वान गरेको छ ।

