मौसमको अवस्था बुझेर मात्रै धान भित्र्याउन कृषि विज्ञको सुझाव

टुडे संवादाता
२ कार्तिक २०७८, मंगलवार १३:३०

हेटौँडा/दशैँ सकिएलगत्तै धान भित्र्याउने योजना बनाएका किसानहरु यतिबेला चिन्तित भएका छन् ।

दशैँको बेला धान पाक्ने समय हुने र घर गाउँमा जनशक्ति पनि धेरै हुने भएकाले धान पाकेको ठाउँमा यही बेला धान काट्ने र भित्र्याउने गरिन्छ । तर केहिदिन देखी पानी पर्न थालेपछि टीका सकिएलगत्तै धान काट्ने किसानको योजना बिफल भएको छ ।

कतिपय ठाउँमा त काटेर खेतमै सुकाएको धान पानीले भिजाएको छ । धान काट्ने बेलामा पानी पर्ने संकेत नदेखिए पनि धान काटेर सुकाउनेबित्तिकै पानी परेपछि नोक्सानी भएको किसानहरुको गुनासो छ । धान नकाटेको ठाउँमा पनि वर्षाले धानको बोट ढलेको अवस्था देख्न सकिन्छ ।

मकवानपुरको हटिया हर्नामाडी, मनहरी, बकैया लगायत आमभञ्ज्याङका फाँटहरुमा काटिएको धान तथा पाकेको धानमा झरीले गर्दा भित्र्याउन नपाएपछि किसान चिन्तित भएका हुन् ।

मौसमको अवस्था बुझेर मात्रै धान भित्र्याउन कृषि विज्ञको सुझाव छ । धान पाके पनि पानीले भिजाउनुभन्दा केही दिन पर्खनु नै उपयुक्त हुने कृषि विज्ञले बताएका छन् ।
पानी पर्ने भएकाले अबको केही दिन धान काट्दा र थन्क्याउँदा विशेष ध्यान दिन विज्ञले सुझाव दिएका हुन् ।
पानी पर्ने सम्भावना भएकाले धान काटेर खेतमै छोड्दा नोक्सान हुन सक्ने भएकाले सकेसम्म धान नकाट्न कृषि विज्ञले सुझाव दिएका हुन्।

मौसमविद्ले बुधबारसम्म नै पानी पर्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*