अब पोखरामा विश्वकै सबैभन्दा भिरालो जिपलाइनकाे मज्जा लिन पाइने, कति लाग्छ खर्च ?

हेटौंडा टुडे
३ कार्तिक २०७८, बुधबार १५:४८

हेटौँडा/ पर्यटकीय नगरी पोखरामा विश्वकै सबैभन्दा भिरालो सुपरम्यान जिपलाइन सञ्चालनमा आएको छ । जिप लाइनमा विश्वमै ख्यातिप्राप्त अमेरिकी ब्रान्ड ‘जिपफ्लायर’को आबद्धतामा पोखरामा जिपलाइन सञ्चालन गरिएको हो । आकर्षक पर्यटकीय गतिविधिमध्येको एक मानिने जिपलाइन हाइग्राउन्ड एडभेन्चर प्रालिले सुरु गरेको हो ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश महर्जनका अनुसार हाइग्राउन्ड एडभेन्चर नेपालमा सबैभन्दा पहिला जिपलाइन सञ्चालन गर्ने कम्पनी हो । यो कम्पनीले सन् २०१० मा नेपालमै पहिलो पटक जिपलाइन सुरु गरेको थियो । त्यसको एक दशकपछि कम्पनीले पर्यटकलाई फरक खालको साहसिक आनन्द दिन सुपरम्यान जिपलाइन सञ्चालनमा ल्याएको हो । सुपरम्यान जिपलाइन सुतेर गरिन्छ ।

जिपलाइनको माथिल्लो स्टेसन समुद्री सतहदेखि एक हजार ५५० मिटरको उचाइमा रहेको सराङकोटमा राखिएको छ । त्यहाँबाट ६०० मिटर भिरालो दूरीमा तल्लो स्टेसन छ । यति धेरै भिरालो भएको जिपलाइन विश्वमै अन्यत्र कहीं पनि नभएको महर्जनले बताए । उनले यो जिपलाइनलाई गिनिज बुक अफ वल्ड रेकर्डमा ‘विश्वकै भिरालो जिपलाइन’ का रुपमा दर्ता गर्न आवेदन दिएको जानकारी समेत दिए ।

विश्वकै लामोमध्येको एक हजार ८५० मिटर दूरीको सुपरम्यान जिपलाइन पार गर्न औसत १४० किमि प्रतिघण्टाको गतिमा अधिकतम समय एक मिनेट लाग्छ । ३५ देखि १२० किलो तौलका साथै १२ वर्षदेखि माथिका व्यक्तिले जिपलाइनको मज्जा लिन सक्छन् । नेपालीका लागि छ हजार ५०० र विदेशीका लागि आठ हजार ५०० रुपैयाँ शुल्क कायम गरिएको सुपरम्यान जिपलाइनमा फोटो, भिडियो र टिसर्ट प्याकेज लिन अतिरिक्त थप एक हजार ५०० रुपैयाँ तिर्नुपर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*