हेटौँडा/ बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ । आज मतदान हुन लागेको हो । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार सत्तापक्ष र प्रतिपक्षलाई मतदानका लागि छुट्टाछुट्टै कक्षको व्यवस्थापन गरिएको छ ।
आज बुधबार दिउँसो हेटौंडा स्थित बागमती प्रदेशको प्रदेशसभामा बस्ने बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिदै छिन् । एमाले विभाजनको क्रममा शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर, एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले शाक्यलाई साथ नदिएपछि उनी अल्पमतमा परेकी हुन् ।
विपक्ष गठबन्धनले मुख्यमन्त्रीमा एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको नेता राजेन्द्र पाण्डेलाई प्रस्ताव गरेको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनले शाक्यलाई विश्वासको मत नदिने बताईसकेको छ ।
बागमतीमा सभामुखसहित १०९ सांसद छन् । शाक्यले विश्वासको मत पाउन ५५ मत ल्याउनु पर्ने छ तर एमालेसँग ४३ मत मात्र छ । कांग्रेसको २२, नेकपा माओवादीको २३ र एकीकृत समाजवादीको १३ मत छ । यसैगरी, विवेकशील साझाको ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र सांसदको १ मत रहेको छ ।