मकवानपुरबाट योगेश भट्टराईको च्यालेन्ज ‘ माधवजि को पार्टीले एक सिट जित्दैन ’

हेटौडा टुडे
२ मंसिर २०७८, बिहीबार १२:५८

हेटौँडा/ नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व मन्त्री योगेश भट्टराईले नेकपा एमालेबाट चोइटिएर बनेको माधव नेपाल नेतृत्वको एकिकृत समाजबादीले एक्ले निर्वाचनमा भाग लिएको अवस्थामा एक सिट पनि नजित्ने बताएका छन् ।मकवानपुरको मनहरी गाउँपालिकामा भएको गाउँकमिटिको सपथग्रहण कार्यक्रममा बोल्दै सचिव भट्टराईले माधव नेपालको पार्टीसँग एक्लै चुनाव उठेर एक सिट पनि जित्ने ल्याकत नभएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका भट्टराईले नेकपा माओवादी केन्द्रको पनि अवस्था नाजुक रहेको बताए । अहिले माओवादी अध्यक्ष प्रचण्ड पनि कांग्रेससँग सिट माग्दै हिडेको बताउँदै नेकपा एमाले मात्र एक्लै चुनाव लडेर पहिलो शक्ति बन्ने हैसियतमा रहेको उल्लेख गरे ।उनले भने ‘अहिले प्रचण्ड र नेपालहरु कांग्रेसँग तालमेल गर्छौ भन्ने हिडिरहेका छन, तर कांग्रेसले त्यो काम गर्दैन, कांग्रेसले कतिजनालाई सिट बाढ्दै हिडोस ? ’ माओवादी र समाजवादीको जग नभएको कांग्रेसलाई थाहा भएको भन्दै उनले जग नभएको घर कतिबेला ढल्छ थाहै नहुने बताए ।

आफुहरुले माधव नेपाललाई पटक–पटक पार्टी विभाजन गर्ने अपराध नगर्नुस, त्यो पार्टीको लागि र तपाईको ब्यक्तिगत र राजनीतिक जीवनको लागि पनि राम्रो हुँदैन भन्दा पनि उहाँले अपराध गरेको भन्दै आफुहरुले पार्टी विभाजनकारीलाई साथ दिन नसकेको स्पष्ठ पारे । नेकपा एमालेले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर हजारौ नागरिकको हत्या हुनबाट जोगाएको उल्लेख गर्दै उनले नेपालमा एउटा मात्र कम्युनिष्ट शक्ति रहने र त्यो एमाले भएको उल्लेख गरे ।

मंसिर १० गतेबाट चितवनमा हुने १० औँ राष्ट्रिय महाधिवेशनबाट पनि सर्वसम्वत नेतृत्व चयन हुनेमा आफुहरु विश्वस्त रहेको भन्दै भट्टराईले भने ‘देशको सबै जिल्ला र संघ संगठनबाट सर्वसम्वत प्रतिनिधि चयन भएका छन, त्यसैले हामीलाई नेतृत्व पनि सर्वसम्वत चयन गर्न दबाब छ, हाम्रो अध्यक्ष कमरेड पनि सोहि कुरामा चिन्तित हुनुहुन्छ । ’

कार्यक्रममा नव गठिन नेकपा एमाले मनहरी गाउँपालिका कमिटिको सपथ ग्रहण समेत गराईएको थियो । नविन सुवेदीको अध्यक्षतामा बनेको कमिटिको सपथ ग्रहण भट्टराईले गराएका हुन् । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर राना, एमालेका बागमती प्रदेश सदस्य एकराज उप्रेती, एमाले मकवानपुर सचिव एकालाल श्रेष्ठ, प्रदेश सदस्यहरु सुन्तली चेपाङ, भोजराज ढकाल लगाएतको सहभागिता रहेको थियो । खबरब्रेकबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*