हेटौँडा/ नेकपा एमालेको चितवनमा जारी दसौँ महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा आज अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी, पदाधिकारी र बिभिन्न आयोगमा रहनेहरूको नामावली पेश गर्ने भएका छन् ।
पार्टीका ३ सय १ केन्द्रीय सदस्य, १९ जना पदाधिकारी र विभिन्न आयोगका अध्यक्षहरूको सूची तयार पारेर बन्दसत्रमा पारितका लागि पेश गर्ने तयारी अध्यक्ष ओलीको छ । आज मध्यान्ह् १२ बजे एमालेमहाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र सुरु हुनेछ ।
एमाले नेता तथा पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले ‘बन्दसत्रमा अध्यक्ष ओलीले प्रस्तुत गर्ने सूचीमा सर्वसम्मत पारित हुने विश्वास व्यक्त गरे । उनले नेता भीम रावलले अध्यक्ष पदमा मतदानको माग गरेको खण्डमा रावलको पक्षमा कति जना छन भनेर महाधिवेशन प्रतिनिधिलाई सोध्ने र निर्णय गर्ने बताए । नेता तामाङले सर्वसम्मत नेतृत्व छान्दै आजै महाधिवेशन समापन गरिने जानकारी दिए ।
हिजोको बन्दसत्रले सर्वसम्मत नेतृत्व चयन गर्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । नेतृत्व छान्नका लागि अध्यक्ष ओलीलाई सर्वाधिकार दिने प्रस्ताव सङ्गठन विभाग प्रमुख नेता विष्णु पौडेलले गर्दा अर्का नेता भीम रावलले विरोध जनाएका थिए ।


















