चौलागाईं र विडारीको एमाले प्रवेशले मकवानपुरगढीमा हलचल

हेटौंडा टुडे
१८ बैशाख २०७९, आईतवार २०:२२

हेटौँडा ।  मकवानपुरगढी राप्रपाका प्रभावशाली दुई नेता खिलप्रसाद चौलागाईँ र कृष्णबहादुर विडारी लगाएतका ब्यक्ति आज एमाले प्रवेश गरेका छन । मकवानपुरगढीमा गत निर्वाचनमा राप्रपा पार्टीबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रही ९ सय ५० मत ल्याएका खिलप्रसाद चौलागाईँ नेकपा एमाले प्रवेश गरेका छन् ।आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको संघारमा राप्रपा मकवानपुरको वरिष्ठ उपाध्यक्ष रहेका चौलागाईं आइतबार हेटौंडामा भएको आमसभामा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाई एमालेमा प्रवेश गरेका हुन् ।

उनीसँगै राप्रपा नेता कृष्णबहादुर विडारी, कृष्ण बञ्जारा, भूमिनन्द तिमल्सिनालगायत दर्जनौं नेताहरु एमालेमा प्रवेश गरेका हुन् । चौलागाईं झण्डै ४ दशकदेखि सक्रिय राजनीतिमा छन् । मकवानपुरगढीमा चौलागाईंलाई इमान्दार नेताका रुपमा लिइन्छ । राप्रपाको सानो संगठन हुँदापनि उनले गत निर्वाचनमा ल्याएको मतले धेरैलाई आश्चर्यमा पारेको थियो । जनता माझ सामाजिक क्षेत्रबाट रुचाइएका उनको एमालेमा प्रवेशले मकवानपुरगढीमा हलचल मच्चिएको छ ।

सत्ता साझेदार पाँच दलीय गठबन्धनलाई निर्वाचनमा एक्लै होमिएको एमालेसँग प्रतिस्पर्धा गर्न ‘फलामको चिउरा’ चपाए जस्तै भएको बेला चौलागाईंको एमाले प्रवेशले अर्थ राख्ने नेताहरु बताउँछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*