हेटौंडा । आज बिहान पोखराबाट जोमसोम जाँदा सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा परिचालन भएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ ।
मौसम खराब भएपछि जोमसोमबाट ताराको सम्पर्क विहीन ट्विनअटर खोज्न गएको हेलिकोप्टर जोमसोम विमानस्थलमा फर्किएको हो । हुस्सु र पानी परेकाले खोजी र उद्धारका लागि गएको फिस्टेल एयरको हेलिकोप्टर फर्किएको पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले बताए ।सम्पर्कविहीन भएको ताराको ट्विनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको थियो ।
कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।
पोखराबाट जोमसोमका लागि उडेको सम्पर्कविहीन ताराको जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना रहेको पुष्टि भएको छ । पोखरा विमानस्थलले उपलब्ध गराएको यात्रु विवरणमा १६ नेपाली र ६ विदेशी रहेका छन् ।


















