हेटौंडा/हेटौंडामा मंगलबार (आज) विश्व सुर्तिजन्य पदार्थ रहित दिवस मनाइएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजनामा दिवसको प्रभातफेरी कार्यक्रम गरी मनाइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले सुर्तिजन्य पदार्थ प्रयोग नगर्न आग्रहका साथ बालबालिकालाई खरिद गर्न पठाउने कार्यबन्द गर्न अनुरोध गरेका छन् ।
मन्त्री लामाले बालबालिकालाई प्रयोग गरिएको पाइएमा कारवाही गरिने र विक्री वितरणमा समेत बन्द गरिने बताए । सुरुमा आफुबाट प्रयोग नगर्ने प्रण गरौं र सबैलाई प्रयोग नगरौं भन्दै मन्त्री लामाले प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेको र बजेट ल्याउने तयारीमा रहेकाले स्वास्थ्य र शिक्षामा बजेट राखेर यी यस्ता कार्यक्रमहरुलाई कार्यान्वयन गरि समाजलाई सुर्तिजन्य पदार्थ रहित बनाउने बताए ।
हेटौंडाको बुद्धचोकबाट सुरु भएको प्रभातफेरी बजारपरिक्रमा गरी पुनः बुद्धचोक पुगेर सडक नाटक प्रदर्शन गरिएको थियो । प्रभातफेरीमा नेपाल अर्वुद रोग निवारण संस्था मकवानपुर, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल मकवानपुर, स्वास्थ्य कार्यालय, स्वास्थ्य शिक्षण संस्थाहरु, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो ।


















