मकवानपुर गोल्डकपः उपाधि त्रिभूवन आर्मीको पोल्टामा

हेटौंडा टुडे
२०७९ जेष्ठ ३०, सोमबार २२:१७ गते

हेटौंडा(५ को पिप्ले रंगशालामा सम्पन्न स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता चौथो संस्करणको उपाधि विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । आज सोमबार भएको फाइनल खेलमा आयोजक टोली विजयलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

आर्मीलाई उपाधि दिलाउनको लागि फाइनल खेलमा कप्तान भरत खवास र कमल बहादुर थापाले एक–एक गोल गरेका थिए । उता विजय युथका डोना थापाले एक गोल फर्काएका थिए । खेलको १५ औँ मिनेटमा टेक बहादुर बुढाथोकीको पासमा आर्मीका कप्तान भरत खवासले गोल गर्दै १–० अग्रता दिलाएका थिए । खेलको २५ औँ मिनेटमा आर्मीका युद्ध साहीले डोना थापालाई फाउल गरेपछि विजय युथले पेनाल्टी पायो । डोनाले पेनाल्टीलाई सदुपयोग गर्दै गोल गर्दै विजय युथलाई खेलमा फर्काए ।

पहिलो हाफ १–१ गोलको बराबरी सकिएपनि आर्मी दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको खेलको ५१ औँ मिनेटमा कमल बहादुर थापाले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए ।

खेलको ५५ औँ मिनेटमा अशोक बरालले सन्तोष केसीलाई फाउल गरेपछि आर्मीले पेनाल्टी पाएको थियो । उपाधि जिताउनको लागि निर्णायक गोल गरेका आर्मीका कमल बहादुर थापा म्यानअफ द म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिताको उपाधि विजेताले आर्मीले १५ लाख रुपैयाँ र उपविजेता विजय यूथले १० लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजय युथका गोलरक्षक अशोक बराल घोषित भए । उनले रोयल इन्फिल्ड बुलेट बाईक प्राप्त गरे । बुलेट बाइक हेटौंडा स्कुल अफ म्यानेज म्यान्टले उपलब्ध गराएको थियो ।

यस्तै प्रतियोगिताको विधागततर्फ आर्मीले क्लिनसिप गर्यो । उत्कृष्ट फरवार्ड दिनेश हेम्जन, उत्कृष्ट डिफेन्डरमा बिमल पाण्डे, उत्कृष्ट गोलरक्षकमा विकेश कुथु, उत्कृष्ट मिडफिल्डर बिवेक बस्नेत र आमीकै नबिन न्यौपाने उत्कृष्ट कोच घोषित भए । विधागत उत्कृष्ट हुनेहरुलाई २५–२५ हजार सहित मेडल पाए्। गोल्डकपको विजेता र उपविजेतालाई प्रमुख अतिथि बागमती प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बाँनिया, हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, वडाअध्यक्ष सुशिल घिमिरे लगायतले पुरस्कार बितरण गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*