हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुलाई बधाई तथा परिचयात्मक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा स्वागत गरेको छ ।संसदीय दलका उप नेता कृष्णलाल भडेलको अध्यक्षता एवं संसदीय दलका नेता तथा बागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि इन्द्रबहादुर बानियाँले निर्वाचित जनप्रतिनिधिलाई जनताको मर्म भावना अनुसार काम गर्न निर्देशन दिएका थिए ।उनले सबैलाई समेटन सके कांग्रेसको शिर उच्च हुने भन्दै कांग्रेस साँच्चै जनता प्रति इमानदार छ भन्ने प्रत्याभूति गराउने अवसर पुनः आएको बताए । उनले पार्टी र परिवारको शिर उच्चो राख्ने गरि काम गर्न आग्रह गरे ।
कार्यक्रममा बागमती प्रदेशका मन्त्री, राज्यमन्त्री, प्रदेशसभा सदस्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा ललितपुर महानगरपालिका नगर प्रमुख चिरि बाबु महर्जन, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, निलकण्ठ नगरपालिका धादिङका नगरप्रमुख भिम ढुङगाना, दक्षिणकाली नगरपालिका काठमाडौंकी उपप्रमुख बसन्ति डङ्गोल तामाङ,कालिका गाउँपालिका रसुवाका अध्यक्ष हरिकृष्ण देवकोटा,हेलम्बु गाउँपालिका सिन्धुपाल्चोककी उपाध्यक्ष अम्सरा लामिछानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।