दुई सातामा वाणिज्य बैंकबाट २३ अर्ब निक्षेप घट्यो

हेटौंडा टुडे
२०७९ कार्तिक १६, बुधबार १४:४८ गते

हेटौडा-वाणिज्य बैंकहरूमा तरलताको दबाब बढ्दै गएको छ।

दुई सातामा वाणिज्य बैंकबाट २३ अर्ब निक्षेप घटेको छ। गत असोज ३१ मा ४५ खर्ब ४७ अर्ब रूपैयाँ निक्षेप रहेको बैंकहरूमा कात्तिक ११ गतेसम्म आइपुग्दा निक्षेप घटेर ४५ खर्ब २५ अर्बमा सीमित भएको छ। यो अवधिमा कर्जा लगानी भने पाँच अर्बले बढेर ४२ खर्ब २५ अर्ब रूपैयाँ पुगेको छ।

बैंकहरूको कर्जा निक्षेप अनुपात समेत दुई सातामा ८७.२० प्रतिशतबाट बढेर ८७.५८ प्रतिशत पुगेको छ। यता बैंकहरूले एकअर्काबीच लिने सापटी (अन्तर बैंक) को ब्याजदर समेत ८.५१ प्रतिशत पुगेको छ।

राष्ट्र बैंकले यो दरलाई धेरै बढ्न नदिन ब्याजदर कोरिडरको अवलम्बन गरेको छ। कोरिडोरको माथिल्लो सीमामा रहने स्थायी तरलता सुविधाको ब्याजदर समेत ८.५ तोकिएको छ।यो माथि अन्तरबैंक ब्याजदर जान नदिन राष्ट्र बैंकले प्रयास गर्छ। यो क्रममा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता पठाउँछ। अर्थात् यस्तो सापटी लगायतका विकल्प बढाउँछ।

तरलता दबाब बढेसँगै राष्ट्र बैंकबाट गत तीन दिनको अवधिमा बैंकहरूले एक खर्ब ७२ अर्ब रुपैयाँ स्थायी तरलता सुविधा चलाएका छन्। यसको अवधि ५ दिनको हुन्छ। चालु आर्थिक वर्षको यो अवधिसम्ममा बैंकहरूले २३ खर्ब ६६ अर्ब रूपैयाँ यस्तो सुविधा चलाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*