हेटौडा- नेपाल विद्युत् प्राधिकरणले थप ४५ मेगावाट विद्युत् भारत निर्यातका लागि स्वीकृति पाएको छ। भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले थप विद्युत् निर्यातका लागि प्राधिकरणलाई स्वीकृति दिएको प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए।
सोलु जलविद्युत्को २३.५ मेगावाट र चिलिमे जलविद्युत्को २२.१ मेगावाट बिजुली भारत निर्यात सुरु भएको छ। सोलु जलविद्युत्को बिजुली बेच्न भारतले गत शुक्रबार स्वीकृति दिएको थियो। यी दुई आयोजना थपिएपछि प्राधिकरणले करिब ४१० मेगावाट विद्युत् भारत निर्यात गर्न सक्नेछ।
निर्यात भएको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड –आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री हुँदै आएको छ। प्रतियुनिट ४ देखि साढे ५ भारतीय रुपैयाँ (६.४ देखि ८.८ नेपाली रुपैयाँ) सम्म डे–अहेड बजारमा बिक्री भइरहेको प्राधिकरणले जानकारी दिएको छ। आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा बल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। त्यसैले हरेक बल्कको मूल्य फरक–फरक हुने गरेको छ।