हेटौंडा । बझाङमा भूकम्पमा परी एकजना महिला वेपत्ता भएकी छन् भने १७ जना घाइते भएका छन् । हिजो मंगलबार बझाङ केन्द्रविन्दु भएर लगातार भूकम्प गएपछि खसेको पहिरोमा परि जयपृथ्वी नगरपालिका–११ मा घर नजिकै टिमुर टिप्न गएकी ४५ वर्षीया गुनमति धामी बेपत्ता भएको बताइएको छ ।
यस्तै जिल्लाका विभिन्न पालिकामा गरी १७ जना घाइते भएको विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिएका छन् । केहि घाइते उपचारपछि घर फर्किएको र केहिको विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको प्रजिअ पाण्डेले बताए । भूकम्पका कारण ३१ वटा निजी घर र केही विद्यालय, स्वास्थ्य केन्द्र लगायतका सामुदायिक भवनहरू भत्किएका छन् । भूकम्पका कारण पहिरो गएपछि अवरुद्ध बनेको छ । हिजो मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
त्यसपछि चार रेक्टर स्केलभन्दा माथिका ६ वटाभन्दा बढी भूकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पपछि साना परकम्पहरू लगातार गइरहेकाल मानिसहरू घरबाहिर निस्किएर खुला चौरमा रात विताएका छन् ।