हेटौंडा । हेटौँडा ९ मा रहेको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग बन्द भएको करिब साढे तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । उद्योगले सोमबार बिहानबाट उत्पादन थालेको उद्योगका महाप्रवन्धक वसन्त पाण्डेले जानकारी दिए ।
कोइलाको अभावमा बन्द रहेको उद्योग साढे तीन महिनापछि पुनः सञ्चालनमा आएको हो । महाप्रवन्धक पाण्डेले कोइला सप्लायर्सहरुलाई भुक्तानी दिएपछि कोइला आपूर्ति भएपछि उद्योग चल्न थालेको बताए । ‘कोइला सप्लायर्सहरुलाई भुक्तानी दिन नसकेपछि कोइला आपूर्ति बन्द भएर उद्योग नियमित सञ्चालन गर्न सकेको थिएनौं । कोइला सप्लायर्सहरुलाई भुक्तानि दिएपछि केहि समयलाई पुग्ने कोइला आपूर्ति भएको छ । अब तत्कालै उद्योग बन्द हुँदैन,’ महाप्रवन्धक पाण्डेले भने । ४
वर्षदेखि लगातार घाटामा चलिरहेको उद्योग समय समयमा कोइला अभाव र उपकरण विग्रिएर बन्द हुने गरेको छ । ४० वर्ष पुराना मेशिनबाट अहिले पनि उत्पादन गर्नुपर्ने वाध्यताका कारण बेला बेलामा उद्योग बन्द हुने गरेको महाप्रवन्धक पाण्डेको दावी छ । उनले उद्योगका पुराना मेशिन मर्मत गरेर कहिलेसम्म चलाउने होरु भन्दै प्रश्न गरे ।
पुराना मेशिनका कारण कारण उत्पादन लागत महँगो पर्ने गरेको र उद्योगले निजी क्षेत्रका उद्योगसँग बजार मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको उनले बताए । यस्तै कच्चा पदार्थको अभाव र ढुंगा पिस्ने मेशिन९क्लिङ्क० बिग्रिएर पनि बेला बेलामा सिमेन्ट उत्पादन रोकिने गरेको महाप्रवन्धक पाण्डेको भनाई छ ।
‘सिमेन्ट उत्पादन गर्ने मेसिन धेरै पुरानो र जीर्ण भइसकेको छ । मेसिन पटक–पटक बिग्रिने र पूर्ण क्षमतामा उत्पादन गर्न नसक्ने अवस्था छौं । उद्योगमा नयाँ मेसिन नल्याएसम्म समस्या हट्दैन र उद्योग नाफामा जान सक्दैन,’ महाप्रबन्धक पाण्डेले भने ।
दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योगबाट लामोसमय उत्पादन नहुँदा मौज्दात सिमेन्ट बिक्री गरेर त्यसबाट प्राप्त रकमले कोइला सप्लायर्सहरुलाई भुक्तानी दिएको उनले बताए । चालू आर्थिक वर्षमा उत्पान भएको २ लाख ४९ हजार ४५६ बोरा सिमेन्टमध्ये करिब १ लाख बोरा सिमेन्ट अझै मौज्दाद रहेको महाप्रवन्धक पाण्डेले बताए ।






















