हेटौँडा । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा नवौं राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साईड रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । मंगलबार हेटौँडामा पत्रकार सम्मेलन आयोजना गर्दै क्लबले प्रतियोगिताबारे जानकारी गराएको हो ।एक लाख एघार हजार एकसय ११ रुपैयाँ राशीको फुटबल प्रतियोगिताको उपविजेताले पचपन्न हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्ने क्लबका कार्यबहाक अध्यक्ष नवराज बज्रचार्यले बताउनुभयो । प्रतियोगिता आगामी फागुन २२ गतेबाट सुरु हुने जनाइएको छ । खेल हेटौँडा ४ स्थित हुप्रचौर खेल मैदानमा हुने आयोजकले जनाएको छ ।
४५ वर्ष पुरा भएका खेलाडीहरुले सहभागिता जनाउन पाउनुका साथै टिम दुईजना खेलाडी अनिवार्य ५० वर्ष माथिको हुनुपर्ने खेल कार्यक्रम संयोजक प्रशान्त पाख्रीनले बताउनुभयो । प्रतियोगितामा २२ वटा क्लबहरुले सहभागिता रहने संयोजक पाख्रीनले बताउनुभयो । प्रतियोगिताको आठौँ संस्करणको विजेता एविसी भेट्रान्स क्लब पोखरा रहेको थियो । कार्यक्रममा हेटौंडा वडा नम्बर ६ का वडाध्यक्ष विष्णु बहादुर दहाल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गी, वडा ६ सदस्य विजय पौडेल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलगायतको आतिथ्यता रहेको थियो ।