बागमती प्रदेशसभाको बैठक आज बस्दै

हेटौंडा टुडे
१५ फाल्गुन २०८०, मंगलवार १०:३२

हेटौडा। बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बैठक आज बस्ने भएको छ । बैठक अपराह्न ३ बजे प्रदेश सभा सचिवालयमा बस्ने गरी बोलाइएको हो । प्रदेश प्रमुख यादव चन्द्र शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधान धारा १८३ उपधारा १ बमोजिम प्रदेशसभाको १३ औं अधिवेशन बैठक बोलाएका हुन् ।गत फागुन ८ गते बसेको मन्त्रिपरिषद् बैठकले फागुन १५ गते ३ बजेका लागि हिउँदे अधिवेशन आह्वान गर्ने निर्णयसहित प्रदेश प्रमुख शर्मासमक्ष सिफारिस गरेको थियो । प्रदेश प्रमुख शर्माले सोही अनुरुप संसद् अधिवेशन बोलाएका हुन् ।

आजको प्रदेशसभा बैठकमा संसदमा रहेका सत्तापक्ष र प्रतिपक्ष दलका संसदीय दलका नेताले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । यस्तै, बैठकमा केही विधेयक पनि प्रस्तुत हुने प्रमुख सचिव खड्काले बताए ।

प्रदेशसभा बैठकअघि सर्वदलीय बैठक बस्दैछ । गत आइतबार बसेको बैठकमा सहमति नजुटेपछि आज पुनः बस्न लागेको हो । यसअघि बसेको सर्वदलीय बैठकमा संसद् संचालनको विषयमा सहमति जुटे पनि सत्तापक्ष र प्रतिपक्ष दलबिचको पूर्व निर्धारित सहमतिका विषयमा भने कुरा मिल्न सकेको थिएन । सोही विषयमा छलफल गरी सहमतिमा पुग्ने गरी आज पनि सर्वदलीय बैठक बस्न लागेको हो ।बागमती प्रदेशसभाको बैठक यसअघि गत असोज २२ गते बसेको थियो । संसद्को बजेट अधिवेशन अन्त्य गरिएको ४ महिनापछि प्रदेशसभा बस्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*