हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते आइतबारबाट दिउँसो र बिहान फरक फरक समयमा मात्र संचालनमा रहेने भएको छ।मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले दैनिक यातायात संचालनमा सहजताको लागि फरक फरक समयमा खोलिने भएको हो ।
मर्मतसम्भारका लागि काल्चेदेखि बगुवाखण्डसम्म चैत १ गतेदेखि बन्द गरिएको सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजेसम्म र साँझ ६ बजेबाट बिहान ४ बजेसम्म सवारी साधनका लागि खुला रहने छ ।दुई ‘सिफ्ट’मा काम गरेर शीघ्र सम्पन्न गर्ने लक्ष्यका साथ भोलीबाट आगामी जेठ १५ गतेसम्म बाटो दिउँसो तीनघण्टा र राति र बिहान गरी १० घण्टा खुल्ने कान्तिलोकपथ आयोजनका इन्जिनियर रवीन्द्र महर्जनले जनाएका छन्।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा बिहीबार भएको बैठकले बिहान ६ बजेदेखि ९ बजेसम्म र मध्याह्न १२ बजेदेखि अपराह्न ६ बजेसम्म दुई सिफ्टमा काम गर्ने निर्णय गरेको हो । बैठकले उक्त सडकमा छ चक्के र त्यसभन्दा बढी पाङ्ग्रा भएका मालवाहक सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ ।यो सडक खण्ड एक दशमलव पाँच किलोमिटर चौडा गर्न लागिएको हो ।अहिले ललितपुरको बागमती गाउँपालिका अन्तर्गतको सडकमाथिका चट्टान काट्ने काम भइरहेको छ। यता लोकपथ बन्द रहने बारे जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि जानकारी गराएको छ।