लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन

हेटौंडा टुडे
२५ श्रावण २०८१, शुक्रबार १०:५३

 
हेटौडा । बागमती प्रदेश सरकारले लम्पी स्किन रोगविरुद्ध  सप्ताहव्यापी खोप अभियान  सञ्चालन गर्ने तयारी गरेको छ। प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएको हो। अभियान साउन २५ गते शुक्रबारदेखि सुरु भई साउन ३१ गतेसम्म प्रदेशका १३ वटै जिल्लामा एकसाथ सञ्चालन गरिनेछ।

प्रत्येक जिल्लामा स्थानीय तहको समन्वयमा पशु सेवा कार्यालयहरू मार्फत खोप अभियान सञ्चालन हुनेछ। बागमती प्रदेशका प्रमुख प्रभावित जिल्लाहरूमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, र सिन्धुली रहेका छन्, जहाँ क्रमशः ४०१०१, २७९३५, र २८५५३ पशुहरू प्रभावित भएका छन् ।यस वर्ष ७६ हजार २ सय ७५ पशुहरूलाई खोप लगाउने लक्ष्य राखिएको छ। लम्पी स्किन रोगका कारण गाईभैंसीमा उच्च ज्वरो, शरीरमा र्गिखाहरू, सुन्निने जोर्नी र खुट्टा, थुनेलो देखापर्ने र दुध उत्पादन ८० प्रतिशतसम्म घट्ने गरेको छ। गत आर्थिक वर्षमा ४८ हजार ३ सय ६४ पशुलाई र मकवानपुरमा ३१ हजार ६ सय ६ पशुलाई खोप दिइएको थियो। यस रोगका कारण गत वर्ष ११ हजार २ सय १८ पशुको मृत्यु भएको थियो र नेपालमा कूल ७५ अर्ब ४८ करोड रुपैयाँको आर्थिक क्षति भएको अनुमान गरिएको छ।

लम्पी स्किन डिजिजको कारण सामन्यतया १०/२० प्रतिशत पशुहरू बिरामी हुने र करिब १/५ प्रतिशतसम्म मृत्यु दर देखिन सक्छ। विगतका वर्षहरूमा लम्पी स्किन डिजिजका कारण बागमती प्रदेशमा ठूला आर्थिक क्षति भएका छन्। यो रोग नियन्त्रणका लागि प्रभावकारी उपाय खोप लगाउने नै हो। यसै कारण, प्रदेश सरकारले यसवर्ष पनि खोप अभियानलाई निरन्तरता दिएको छ ।

लम्पी स्किन डिजिजबाट बच्नका लागि खोप लगाउनु नै सबैभन्दा प्रभावकारी उपाय हो। यो रोगबाट मानिसमा सर्ने खतरा छैन, र लम्पी स्किन डिजिज लागेका पशुको दूधको सेवनबाट मानिसलाई कुनै असर गर्दैन। प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले यस खोप अभियानलाई सफल बनाउन सबै सरोकारवालाहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*