
हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग झन्डै ५ महिनादेखि बन्द छ । कोइला अभाव, मेसिन मर्मत र लोडसेडिङ भन्दै असोज १५ यता उद्योग सञ्चालन भएको छैन । न सिमेन्ट उत्पादन छ, न त उद्योग पूर्णरुपमा बन्द । उद्योगले आर्थिक संकटको सामना गरिरिँदा सिमेन्ट उत्पादन अन्यौलमा छ । यति मात्रै होइन, दुई सातादेखि हेटौंडा सिमेन्टको स्टक पनि रित्तिएको छ । दसैंयता यो उद्योग राम्रोसँग सञ्चालन हुन सकेको छैन । महिनौं बन्द भएर एक–दुई साता सञ्चालन हुन्छ, त्यसपछि फेरि बन्द भइहाल्छ ।
अहिले हेटौंडा सिमेन्ट आफैं ‘कोमा’ मा पुगेसरह छन् । यसरी सरकारी सिमेन्ट उद्योग बन्द भइदिँदा निजी उद्योगीको मनमौजी चलिरहेको छ । उनीहरूले कार्टेलिङ, सिन्डिकेट गरेर एकाएक मूल्य बढाइरहेका छन् । ६ महिनाको अवधिमा प्रतिबोरा मूल्य दोब्बर पुगेको छ । तर सरकार मौनजस्तै छ । साउनमा सिमेन्टको मूल्य प्रतिबोरा ४ सय रुपैयाँ थियो । ६ महिनासम्म आइपुग्दा सिमेन्टको भाउ बढेर ८ सय १५ रुपैयाँ पुगेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । मूल्य थप बढाएर बोराकै १ हजार रुपैयाँ पुर्याउने खेल भइराखेको छ । तर सरकारको उपस्थिति देखिएको छैन ।आर्थिक संकट गहिरिँदै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा छ । उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । झण्डै तीन महिनासम्म बन्द रहेको सिमेन्ट कारखाना अब कहिले खुल्छ भन्ने कुनै खाका छैन ।
२०३३ मा हेटौंडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको हो । उद्योगका मेसिनहरु पुरानो हुँदा उत्पादनमा समस्या हुने गरेको प्राविधिकहरु बताउँछन् । निजी सिमेन्ट उद्योगसरह नै सिमेन्ट उत्पादनका लागि प्लान्ट नयाँ प्रविधिको भिœयाउन आवश्यक रहेको उनीहरु बताउँछन् । उपकरण मर्मतसम्भार गरी मंसिर पहिलो साताबाट उत्पादन सुरु गर्ने बताइए पनि उपकरण मर्मत नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासन प्रमुख तथा सूचना अधिकारी हरेराम आचार्य बताउँछन् ।
उद्योग घाटाको घिटघिटीमा रहे पनि कर्मचारीको संख्या भने व्यापक छ । उत्पादन ठप्प भएको अवस्थामा कर्मचारीलाई दिने तलबको व्यवस्थापन कसरी भइरहेको छ भन्ने प्रश्नमा प्रशासन प्रमुख तथा सूचना अधिकारी आचार्यले भने–सधैं उद्योग चलेको छैन । उद्योगमा उत्पादन भएको सिमेन्ट बजारमा गएर रकम आएपछि सोही रकमले तलब खाने काम भइरहेको छ । उनका अनुसार चालु आर्थिक वर्षमा उद्योगले ८ करोड ७७ लाख ५० हजारको सिमेन्ट बिक्री गरेको थियो । सोही रकमबाट कर्मचारीको तलबभत्ता व्यवस्थापन गरिरहेको छ । तर, पछिल्लो समय भने तलब पनि बाँड्न नसकिने अवस्थामा पुगेको उनले बताए ।
सिमेन्ट उद्योगमा कोइला छैन । अन्य कच्चा पदार्थको पनि अभाव छ । मेसिन पुराना भएकाले मर्मतसम्भारको काम पनि बाँकी छ । तर यी सबका लागि बजेट अभाव छ । ‘कोइलाका लागि टेन्डर भएको थियो तर पैसा पाउने सुनिश्चितता नभएपछि कोइला दिएको छैन,’ उनले भने, ‘यसबारे मन्त्रालयसँग पटकपटक योजना पेस गरेका छौं । तर कुनै सुनुवाइ भएको छैन ।’
आर्थिक समस्याकै कारण विद्युत् प्राधिकरणको लामो समयदेखि महसुल बुझाउन नसक्दा बक्यौता थुप्रिएको छ । प्राधिकरणलाई तिर्नुपर्ने करिब ४० करोड बक्यौता बाँकी रहेको आचार्यले जनाए । उदयपुर सिमेन्ट पनि दसैंयता राम्रोसँग चलेको छैन । यो उद्योगमा पनि समस्या कोइला अभावकै हो । ‘पुसमा करिब १० दिन चल्यो । त्यसपछि फेरि बन्द भयो,’ अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष विशेश्वर पालले भने, ‘उदयपुर सिमेन्ट उद्योगको अवस्था पनि दयनीय छ ।’ उद्योगका नि। महाप्रबन्धक महेश साहले पनि कच्चा पदार्थकै कारण उद्योग बन्द गर्नुपरेको दाबी गरे ।
‘आर्थिक अवस्था सबल छैन । उद्योग मन्त्रालयसँग पटक–पटक पैसा माग्यौं । ४० करोड माग्दा १६ करोड दियो, उक्त रकम मेसिन मर्मतमा सकियो,’ उनले भने, ‘कच्चा पदार्थ खरिद गर्न चैतमा फेरि २४ करोड माग गर्यौं तर पैसा आएन । कर्मचारीले पनि ४ महिनायता तलब पाएका छैनन् । यी सबै कारणले उद्योग सञ्चालन हुन सकेन ।’
सिमेन्ट उद्योगको अवस्था नाजुक भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका इन्जिनियर खगेन्द्रबहादुर बस्नेतको संयोजकत्वमा बनेको पाँच सदस्यीय विज्ञ टोलीले हेटौंडा सिमेन्टमा रणनीतिक साझेदार भित्र्याएर व्यवस्थापन सुधार गर्न सुझाव दिइसकेको छ ।
दुवै उद्योगलाई प्रतिस्पर्धी बनाउन मर्जरमा लैजाने पनि सुझाव दिएको छ । तर अहिलेसम्म्म यसमा कुनै कामै भएको छैन । सरकारी उद्योग सञ्चालन नहुँदा फाइदा भने निजीलाई भएको छ । उनीहरूले आफूखुसी मूल्य बढाएका छन् ।

