हेटौंडा । बालजागृतिले ४ जिपिए ल्याउने बिध्यार्थिलाई ८० हजार नगद पुरस्कार प्रदान गर्दै खुसियाली मनाएको छ । माध्यमिक शिक्षा परीक्षा एसईई मा एक जना विद्यार्थीको ४ जीपीए सहित शतप्रतिशत नतीजा हासिल गरेको हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले सोमबार खुसियाली मनाएको हो । ४ जीपीए ल्याउने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरेको विद्यालयले एसईईमा उत्तीर्ण हुने सबै विद्यार्थीलाई पनि अभिभावकको उपस्थितिमा सम्मान गरेको छ । ४ जीपीए ल्याइ उत्तीर्ण हुने छात्रा अनुप्रस्था देवकोटा रहेकी छिन।
विद्यार्थीलाई सम्मानपछि विद्यालयका संस्थापक, सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकको सहभागितामा र्याली निकालिएको थियो । विद्यालय परिसरबाट सुरु भएको खुसियाली र्याली हेटौँडा बजारको परिक्रमा गरी विद्यालयमै पुगेर समापन भएको थियो । ४ जीपीएसहित उत्तीर्ण हुने छात्रा अनुप्रस्था देवकोटालाई विद्यालयले नगद ३५ हजार रुपैयाँसहित पुरस्कृत गरेको छ । यस्तै विद्यालयका प्रिन्सीपल विनोद सुवेदी, सहायक प्रिन्सीपल अमूल श्रेष्ठ र विज्ञान विषय शिक्षक प्रेम हमालले १५/१५ हजारका दरले ४५ हजार नगद पुरस्कार प्रदान गर्नुभएको छ । देवकोटाले विद्यालयबाट कुल ८० हजार रुपैयाँ पुुरस्कार पाउनुभएको छ । बालजागृतिबाटै गत वर्ष पनि एक विद्यार्थीले ४ जीपीए प्राप्त गरेका थिए । बालजागृतिका विद्यार्थीले लगातार ४ जीपीए अंक हासिल गरेका छन् । गत वर्षको ४ जीपीए ल्याएको एक विध्यार्थिलाइ विद्यालयको तर्फबाट नगद २५ हजार रुपैयाँ र तीन जना शिक्षकहरुबाट ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी थिइन् ।






















